वीर अस्पतालमा बच्चा र प्रसूतिबाहेक सबै उपचार सेवा | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

वीर अस्पतालमा बच्चा र प्रसूतिबाहेक सबै उपचार सेवा

bir hospital

काठमाडौं, ५ भदौ । नेपालको पुरानो वीर अस्पतालले बच्चा र प्रसूतिबाहेक सबै प्रकारको उपचार सेवा दिइरहेको छ । अस्पतालले चाँडै मानसिक रोगसम्बन्धी सेवा नियमित गर्ने तयारी पनि गरेको छ । हाल हप्ताको दुई दिन मात्र मानसिक रोगको उपचार हुँदै आएको छ ।

‘अस्पतालले बच्चा र प्रसूतिबाहेकका सबै प्रकारका उपचार सेवा दिइरहेका छौँ,’ अस्पतालका निर्देशक प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले भने । उनका अनुसार वीर अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिइरहेको छ । १२९ वर्षअघि पाँच शैयाबाट सुरु भएको अस्पतालमा हाल ३८० शैया छन् । भूकम्पअघि ४८६ शैया भए पनि विभिन्न भवनमा क्षति पुग्दा ३८० मा झरेको हो ।
कहाँ–कहाँ सुरु भएको छ सेवा
वीर अस्पतालमा केही वर्षयता बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ । शैक्षिक कार्यक्रम विभिन्न जिल्लामा सुरु भए पनि सेवा विकेन्द्रीकरण बाँकी नै रहेको छ । निर्देशक बस्नेतले वीर अस्पतालको सेवा प्रदेशस्तरमा वृद्धि गर्न आवश्यक रहेको बताए । अस्पताललाई एपेक्स विश्वविद्यालयका रूपमा विकास गरी सातवटै प्रदेशमा सेवा विस्तार गर्नु आफ्नो लक्ष्य रहेको बताए ।

विगतमा करिब १५ सय बिरामीले वीर अस्पतालमा दैनिक उपचार सेवा पाउने गरेकोमा हाल सो संख्या बढेर २५ सयसम्म पुगेको छ । बस्नेतका अनुसार बिरामीको चापलाई कम गराउन मुलुकको अन्य भागमा समेत वीर अस्पतालको सेवा विस्तार गर्ने प्रक्रियामा अगाडि बढ्ने बताए । ‘अहिले अस्पतालले बिरामीको चाप धान्न सकेको छैन । त्यसैले वीरको सेवालाई विकेन्द्रीकरण नगरे सेवा प्रवाहमा समस्या हुनेछ,’ निर्देशक बस्नेतले भने ।

के–के सेवा निःशुल्क
सरकारले उपचार सहायताका लागि तय गरेका बिरामीको स्वास्थ्य उपचारमा वीर अस्पतालले निःशुल्क सेवा दिँदै आएको छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेलका बिरामीलाई निःशुल्क उपचार दिएको छ । निर्देशक बस्नेतका अनुसार गत वर्ष सरकारले निःशुल्क उपचारका लागि दिएको पाँच करोड र अस्पतालको पाँच करोड गरी १० करोड रुपैयाँ बराबरको निःशुल्क सेवा दिएको छ । अस्पतालले गरिब र विपन्न वर्गका बिरामीलाई भने अवस्थाअनुसार स्वास्थ्य सेवा दिँदै आएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।