काठमाडौं, ११ फागुन । भियतनामको विदेश मन्त्रालयले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भियतनामको भ्रमण गर्ने घोषणा गरेको छ । भियतनामको सरकारी समाचार संस्थाले जनाए अनुसार किमले अमेरिकी राष्ट्रपति ट्रम्पसंगको वार्ताअघि भियतनामको भ्रमण गर्नेछन् ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोश्रो शिखर वार्ताअघि भियतनामको भ्रमण गर्न लागेका हुन् । भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा महासचिव फु थोङ्गको निमन्त्रणामा किमले भियतनाम जान लागेको जनाइएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम तथा अमेरिकी राष्ट्रपति ट्रम्पबीचको दोश्रो शिखर वार्ता आगामी फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा गर्दैछन् ।
किमको भ्रमणका लागि भियतनामले राजधानी हनोईमा फेब्रुअरी २६ का लागि ट्राफिक तथा सुरक्षा व्यवस्थामा कडाई गर्ने जनाइएको छ । यसअघि किम रेलमार्गबाट चीन हुँदै भियतनाम आउने तयारी भइरहेको समाचार सार्वजनिक भएको थियो । भियतनामका अधिकारीले त्यसबारे कुनै टिप्पणी नगरेको बताइएको छ । यता उत्तर कोरियाली सरकारी समाचार संस्थाले भने हालसम्म किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोश्रो शिखर वार्ता वा भियतनाम भ्रमणबारे कुनै समाचार सम्प्रेषण नगरिसकेको अन्तराष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।