७२ कन्याको सामूहिक बेलविवाह | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

७२ कन्याको सामूहिक बेलविवाह

samuhik bel bibaha

हेटौंडा, २७ माघ । सिँगारिएर चिटिक्क परेका ७२ नेवार समुदायका बालिकाहरू शनिबार हेटौंडा बसपार्कमा निर्मित विवाह मण्डपमा सामूहिक बेलविवाहका लागि बेहुली बनेर तम्तयार थिए ।

नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन छ । नेवारीमा यसलाई इही भन्ने गरिन्छ । चलन पछ्याउँदै हेटौंडामा यसरी सामूहिक बेल विवाह गरिएको हो । वैवाहिक समारोह शनिबार र आइतबार दुई दिनसम्म चल्नेछ ।

सामुहिक बेल विवाहका लागि जिल्लाका विभिन्न स्थानबाट रजस्वला नभएका बालिकाहरू ल्याइएका थिए । विधिवत् रूपमा बाबु–आमाले छोरीको कन्यादान गरिरहेका थिए । सुवर्णकुमार बेल विवाह गुठी हेटौंडाले भड्किलो खर्च घटाएर नेवारी परम्परालाई जीवित राख्ने उद्देश्यले बसपार्कको टहरारूपी डबलीमा यज्ञ गरी ७२ जना कन्याको सामूहिक बेलविवाह गरेको हो ।

नेवारी संस्कृति बचाउन र सामाजिक व्यवहारमा तडक–भडक घटाई कम खर्चमा सम्पन्न गर्न सामूहिक विवाहको आयोजना गरेको गुठीका प्रमुख हरिश्चन्द्र श्रेष्ठले बताए । सामूहिक बेलविवाहका लागि ७ र ९ वर्षका बालिकाहरू बढी सहभागी छन् । ५ र ११ वर्षका बालिकाहरू पनि बेलविवाहमा सहभागी गराइने गरेको छ । एउटै परिवारमा दिदी, बहिनीको सँगै बेलविवाह गराउनुपर्दा ५ र ११ वर्षको उमेरका बालिकाहरू सहभागी हुने गरेको श्रेष्ठले बताए ।

सामूहिक बेलविवाहका लागि सहभागी हुने बालिकाका अभिभावकबाट १ हजार ६ सय रुपैयाँ गुठीले शुल्क लिने गरेको छ । उक्त रकमबाट पुरोहित र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरिएको गुठी प्रमुख श्रेष्ठले जानकारी गराए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।