काठमाडौं, २४ माघ । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्षको ६ महीनामा गत वर्षकोभन्दा ५ दशमलव ९० गुणा बढी नाफा आर्जन गरेको छ । गत वर्ष ६ महीनामा रू. १४ लाख ५८ हजार नाफा गरेको कम्पनीले यस वर्ष रू. ८६ लाख ६ हजार नाफा गर्न सफल भएको हो । गत वर्ष सञ्चालन नोक्सानीमा रहेको कम्पनीले यस वर्ष रू. १ करोड ३ लाख ४५ हजार सञ्चालन नाफा गरेकाले नाफा बढ्नमा सहयोग मिलेको हो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा २७ प्रतिशत बढी रू. ३१ लाख ८२ हजार खराब कर्जा उठाएको छ । ४ सय प्रतिशत हकप्रद जारी गरी चुक्तापूँजी रू. ५० करोड पुर्याएको कम्पनीको जगेडा कोष रकम पनि ऋणात्मकबाट सुधारिएको छ । गत वर्ष रू. ५५ लाख ७६ हजार ऋणात्मक जगेडा कोष रकममा सुधार आइ रू. १ करोड ५३ लाख ६५ हजार पुगेको छ । गत वर्षभन्दा २ प्रतिशत कम रू. ५८ करोड ५ लाख २१ हजार निक्षेप संकलन गरेको कम्पनीले ७४ प्रतिशत बढी रू. ७८ करोड ९ लाख २६ हजार कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा ३ प्रतिशतबाट घटेर २ दशमलव ३० प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी वार्षिक रू. ३ दशमलव ४४ रहेको छ । यो समाचार आजको अभियान दैनिकमा छपिएको छ ।




