एनसेलले ६० अर्ब ७१ करोड कर तिर्न बाँकी
काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो ।
एक्जिएटाको प्रभावकारी नियन्त्रणमा रहेका कारणले लाभकरको दायित्व एनसेल र एक्जिएटाले बेहोर्नुपर्ने गरी सर्वोच्चले फैसला गरेको हो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो ।
उक्त किनबेचमा नेपालले लाभकर उठाउन सकिरहेको थिएन । अर्थमन्त्रालयले एनसेल खरिदविक्रीमा ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको जानकारी गत मंसिर २१ गते संसदको सार्वजनिक लेखा समितिलाई दिएको थियो ।




