काठमाडौं, २३ माघ । शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । सरकारका जनविरोधी कदम विरुद्ध पोखरामा भएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाईएकोमा कांग्रेसले गम्भीर आपत्ती जनाएको हो ।
बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न पनि माग गरेको छ ।
त्यसैगरी गत सोमबार धनुषाको सबैया नगरपालिका वडा नम्बर १० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषिमाथि कडा कारवाहीको माग गरेको छ । कांग्रेसले प्रदर्शन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ । घाईते कापडीको अहिले विराटनगरमा उपचार भईरहेको छ ।
यसैबीच गत सोमबार राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौंको सहभागीताप्रति आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन गर्न सफल भएकोमा बैठकले सबै जिल्लाको पार्टी पंक्तिलाई बधाई दिएको छ ।
बुधबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँड, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, आनन्द प्रसाद ढुंगाना र मोहन बहादुर बस्नेतले धारणा राखेका थिए ।
यसैबीच नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिका बारेमा भने नेताहरुबीच मत बाझिएपछि बैठकले कुनै निर्णय गर्न सकेन । बैठक भोलि विहिबार ११ बजे पुन बस्ने छ ।




