तत्काल एनसेलबाट कर असुल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तत्काल एनसेलबाट कर असुल नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सरकारले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले आउँदो २३ गते सरकार र एनसेल दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

अदालतको आदेशसँगै एनसेलबाट कर असुलीको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । ठूला करदाता कार्यालयले बैशाख ३ गते एनसेलमाथि ३९ अर्ब ६ करोड रुपैयाँ थप कर निर्धारण गरी सात दिन भित्र तिर्न पत्राचार गरेको थियो ।

एनसेलले कर निर्धारण प्रक्रिया ठीक नभएको भन्दै सरकार विरुद्ध बैशाख ९ गते मुद्दा दायर गरेको थियो । पूर्वसचिव द्वारिकानाथ ढुंगेलसमेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतको बृहत् पूर्णइजलाशले एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर एनसेलबाटै असुल गर्न आदेश दिएको थियो ।

आदेशमा सुरुमा निर्धारण भएको कर र त्यसको विलम्ब शूल्क समेत उसुल गर्न समेत उल्लेख गरिएको थियो । यही आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि थप कर निर्धारण गरेको थियो ।

६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कूल कर निर्धारण भएकोमा एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार बुझाइसकेको छ । बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार रुपैयाँ बुझाउन गरेको पत्रकारविरुद्ध एनसेल सर्बोच्चमा गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);