काठमाडौं, २१ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ ।
आइतवार राती आफ्नै मैदानमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जियो अगुएरोले ह्याट्रिक गरेका थिए । आर्सनलका लागि फ्रेन्च डिफेन्डर लरेन कोसेल्नीले एक गोल फर्काएका थिए । गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० ले हरायको छ । युनाइटेडलाई जित दिलाउन मार्कस रास्फोर्डले निर्णायक गोल गरेका थिए ।
गएरातिको जितसँगै म्यान्चेस्टर सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ५७ अंक रहेको छ । ५० अंकसहित चेल्सी चौथो स्थानमा उक्लिँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौं तथा ४७ अंकसहित आर्सनल छैटौं स्थानमा रहेका छन् ।