रानीपोखरीबाट कमल पोखरीमा सारेका सबै माछा मरे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रानीपोखरीबाट कमल पोखरीमा सारेका सबै माछा मरे

काठमाडौं,  २० माघ । भुकम्पबाट क्षतिग्रस्त भएपछि रानीपोखरीबाट कमल पोखरीमा सारिएको सबै माछा मरेर सखाप भएका छन् । रानीपोखरीमा पाइने जुँगे प्रजातिका माछाले कमलपोखरीमा उचित वातावरण नपाएपछि धमाधम मरेका हुन । दुइ बर्षसम्म पालेको माछा हालसालै मर्दा कमलपोखरीको वातावरण दुर्गन्धित भएको छ ।

भूकम्पपछि क्षतिग्रस्त भएको रानीपोखरी पुननिर्माणको लागि पानी सुकाउन थालिएपछि त्यहाँ रहेका माछा कमलपोखरी, वालाजु लगायतका पोखरीमा सारिएको थियो । तर,माछा सारेको दुई बर्षपछि कमलपोखरीका माछा धमाधम मरेर सकिएका छन् ।

काठमाडौं महानगरपालिकाले कमलपोखरीमा मरेका करिब ९ गाडी माछा व्यवस्थापन गरिसकेको छ । अचानक माछा मरेपछि अहिले कमलपोखरी दुर्गन्धित भएको छ भने पोखरीमा जिउँदो माछा छैनन् ।

कमलपोखरी स्पोर्टस क्लवका अध्यक्ष भीम मैनालीका अनुसार मरेका माछा व्यवस्थापन गर्नको लागि मात्र क्लवको २ लाख रुपैयाँ खर्च भएको छ ।

क्लवका अध्यक्ष मैनालीका अनुसार, कमलपोखरीमा करिव दस हजार माछा रहेका थिए । रानीपोखरीबाट कमलपोखरीमा सारिएको माछा जुँगे माछा हुन । यी माछा हिलो खाने र हिलोमा नै रमाउने गर्दछन । तर, रानीपोखरीको तुलनामा कमलोपोखरीको क्षेत्रफल सानो र पानी पनि कम हिलोयुक्त छ ।

१ सय ८० मिटर लम्बाइ र १ सय ४० मिटर चौडाइ रहेको रानीपोखरीको ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको पानीमा बस्दै आएका माछा २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीमा राखिएपछि अक्सिजनको अभावका कारण मरेको हुन सक्ने काठमाडौं महानगरपालिकाको तर्क छ ।

माछा मरेसँगै रानीपोखरीका माछाको पुरानो इतिहास नै मेटिएको छ । हिलोमा बस्न रुचाउने जुँगेमाछाको आहारा साना माछा थिए । ती माछा मरेपछि आहारा नपाएर जुँगेमाछा पनि मरेको हुनसक्ने अनुमान गरीएकाे छ ।

रानीपोखरीलाई सुन्दर बनाउने क्रममा त्यहाँका करिब १० हजार माछा कमलपोखरीमा सारिएको थियो । करिब एक वर्ष अघि देखि माछा मर्न थालेपछि पानी थपेर भएपनि बचाइएको थियो । तर, यो वर्ष लगातार माछा मर्न थालेपछि काठमाडौं महानगरपालिका–१ को कमलपोखरी स्पोर्टस् क्लबले सबै माछा हटाएको छ ।

कमल पोखरी अहिले जिउँदो माछाविहिन भएको छ । अझै मरेका केही माछा पानीमा तैरिरहेका छन् जसले गर्दा पोखरी दुर्गन्धित भएको छ । कमल पोखरीको माछा धमाधम मर्न थालेपछि क्लबले सर्लाहीबाट जाल हाल्न जान्ने माझी वोलाएर पोखरीबाट मरेका माछा निकालेको थियो ।

तर, क्लबले पोखरी सफा गरेपछि नयाँ माछा राख्ने योजना रहेको बताएको छ । काठमाडौं महानगरपालिकाले पनि कमलपोखरीलाई व्यवस्थित र हरियालीयुक्त बनाएर नयाँ पोखरीमा विभिन्न जातका माछा राख्ने योजना रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);