खेतका गह्राबाट कीर्तिमानसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खेतका गह्राबाट कीर्तिमानसम्म

sandeep jora

कञ्चनपुर,  १९ माघ ।  उनी खेतका गह्रामा काठको ब्याट बनाएर क्रिकेट खेल्थे । गाउँका साथीभाइ जम्मा पारेर दिनभरि क्रिकेटमै रमाउँथे । पढाइमा ध्यान नदिएको भन्दै अभिभावक खुबै रिसाउने गर्थे । तर उनले त्यो काठको ब्याट छोडेनन् ।

खेतका गह्रा र बाटोमा खेलेर क्रिकेटमा उदाएका कञ्चनपुरको भीमदत्त नगरपालिका ४ गोबरैयाका तिनै सन्दीप जोरा (तस्बिरमा) ले विश्व कीर्तिमान बनाउँदा घरपरिवारमा खुसीको सीमा छैन । घरमा बधाई दिनेको भीड लागेको छ ।

संयुक्त अरब ईमिरेट्स (यूएई) संँग बिहीबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियको ‘डेब्यु’ खेलमै सन्दीपले कम उमेरमै अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेका हुन् । नेपालले खेल हारे पनि डेब्यु खेलमै गरेको सन्दीपको प्रदर्शनले सबैको मन जितेको छ । १७ वर्ष १ सय ३ दिनको उमेरमा उनले ४६ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाएका थिए ।

शुक्रबार सन्दीपको घरछेउमै विवाह थियो । आमा राधादेवी त्यहाँ पुग्दा चिनेजानेका सबैले उनलाई बधाई दिए । कतिपयले त उनीतर्फ इशारा गर्दै ‘सन्दीपकी आमा’ भन्दै देखाइरहेका थिए । ‘तपाईको छोराले राम्रो खेल्यो । गाउँठाउँ र देशकै नाम राख्यो भन्दै सबैले बधाई दिए,’ उनले सुनाइन्, ‘घरमा पनि आफन्तहरू आएर बधाई दिइरहेका छन् ।’ उनलाई क्रिकेटबारे खासै जानकारी छैन । बिहीबार छोराको खेल छ भन्ने थाहा भए पनि हेर्न भ्याइनन् ।

राधादेवीले सन्दीपसँग खेल हुनुभन्दा अगाडि कुरा गरेकी थिइन् । तर उनले खेलभन्दा पनि खानपिन र सन्चो बिसन्चोबारे सोधिन् । सांँझ जब गाउँलेहरू आएर बधाई दिन थाले त्यसपछि मात्रै उनले छोराले राम्रो खेलेको थाहा पाइन् । साँझ सबै परिवार एकै ठाउँमा बसेर खुसी साटासाट गरेको उनले बताइन् । ‘उसका बुवा घरमा नभए पनि काका र जेठा बुवा र दाजुभाइसहित सबै एकै ठाउँमा बस्यौं,’ उनले भनिन्, ‘सेल पुरी पकाएर सबैलाई खुवाएँ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);