काठमाडौं, १८ माघ । महिला र पुरुष बाहेक तेश्रो लिङ्गीलाई जैविकीय गुणका आधारमा पहिचान सहितको नागरिकता प्रदान गर्ने विषयमा सांसदहरुबीच मतभेद देखिएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुबीच नेपाली नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा महिला वा पुरुष वा अन्य उल्लेख गरि लैङ्गिक पहिचान समेत खुलाउनुपर्ने विषयमा मत भिन्न देखिएको हो ।
अधिकांश सांसदले संविधानले पहिचान सहितको नागरिकताको प्रत्याभुति दिएको र सर्वोच्चले पनि तेश्रो लिङ्गीलाई नागरिकता प्रदान गर्नु भन्ने आदेश गरिसकेकाले महिला वा पुरुष वाहेक अन्य भनिएको स्थानमा स्पष्ट लिङ्ग उल्लेख गर्नुपर्ने दाबी गरेका छन् ।
पछिल्लो समय लिङ्ग परिर्वतन गर्ने प्रचलन बढिरहेको अवस्थामा तेश्रो लिङ्गीलाई पनि दाबी गरे अनुसारको पहिचानलाई आधार मानेर नागरिकता प्रदान गर्दा समाजमा विकृति बढ्ने भन्दै उनीहरुले त्यसो गर्न नहुने जिकिर गरे ।
बैठकमा समिति सदस्य गगन थापा, पुष्पा भुसाल, नवराज सिलवाल, रेखा शर्मा , राजेन्द्र श्रेष्ठ लगायतले संविधानले नै लैङ्गीक पहिचान सहितको नागरिकताको प्रत्याभुति गरेकाले नागरिकता ऐनलाई पनि सोही मर्म अनुसार परिर्वतन गरिनुपर्ने तर्क गरे ।
तर समिति सदस्य दिलेन्द्र बडूले तथ्यमा आधारित भएर नागरिकता प्रदान गर्ने व्यवस्था नगर्ने हो भने समाजमा विकृति निम्तने दाबी गरे ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सह सचिव लीलादेवी गड्तौलाले नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा महिला वा पुरुष वा अन्य लेख्दैमा कसैको अपमान भयो भन्न नमिल्ने तर्क गरे । अन्य लेखिएको स्थानमा लिंङ्गको पहिचान अनुसारको नाम लेख्न सकिने भन्दै उनले त्यसलाई विवादको विषय बनाउन नमिल्ने बताए ।
गृहसचिव प्रेम राईले लिङ्ग परिर्वतन गर्ने चलन बढ्दै गएकाले त्यस्ताको सवालमा मेडिकल बोर्डको सिफारिसका आधारमा नागरिकता प्रदान गर्ने गरि अर्को प्रावधान सहितको महल थप गर्न सकिने बताए ।
नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा लेखिएको अन्यको सवालमा विवाद भएपछि सोबारे निर्णयमा पुग्नका लागि समितिले गृह, कानून मन्त्रालयका पदाधिकारी र संशोधनकर्तासंग छलफल गरेको हो ।
संविधानको धारा १२ मा “बंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता : संविधान बमोजिम बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ” भन्ने उल्लेख छ ।




