काठमाडौं, ११ माघ । पूर्व सभामुख सुवाष नेम्वाङले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदीय विधि र प्रक्रियाबाटै पारित भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले विगतमा संसदीय अभ्यास र स्थापित परम्परा अनुसार पारित गरिएको सो विधेयकलाई विवादमा नल्याउन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरे ।
विधेयक पारित भएपछि संचाकर्मीमाझ उनले प्रमुख प्रतिपक्ष काँग्रेससँग दुई दिनयता धेरै पटक गरिएको छलफलको आधारमा सभामुख कृष्णबहादुर महराले सो विधेयकलाई संसदमा निर्णयार्थ पेश गरेको दावी गरे । आफूसहितको सहभागितामा काँग्रेसका नेताहरुसँग छलफल गरेर पारित गरिएको सो विधेयक संसदीय प्रक्रिया अनुरुप नै रहेको नेम्वाङको तर्क छ ।
उपनेता नेम्वाङले काँग्रेस नेताहरुको नाममा स्थापित दुई वटा अस्पताल विघटन नहुनेमा पनि आश्वास्त पारे । उनले प्रधानमन्त्री केपी ओलीले दुवै अस्पताल खारेज नहुने कुरा संसदमा बोलेकोतर्फ पनि काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराए।