काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो नाराबाजीसहितको अवरोधकाबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाए । विधेयक पारित भएपछि संचारकर्मीमाझ उनले जबरजस्ती विधेयक पारित गराएर सभामुख कृष्णबहादुर महराले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
सभामुखजस्तो निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुखले जब्बरजस्ती सो विधेयक पारित गराएको सभापति देउवाको आरोप छ ।
सभापति देउवाले आफूहरुको विरोधकाबीच विधेयक पारित गराएको र आफ्ना नेताहरुको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट आन्दोलन चर्काउने चेतावनी दिए ।