फूलमाया आले
काठमाडौं, ८ माघ । विक्रम संवत २०७२ सालको भूकम्पका कारण अन्य ऐतिहासिक सम्पदासँगै पूर्ण रुपमा क्षतिग्रस्त भएको काष्ठमण्डपको पुननिर्माण अहिले निकै तीव्र गतिमा भइरहेको छ । नेपालको राजधानी काठमाडौँको नाम काष्ठमण्डपबाट नै रहेको भन्ने इतिहासमा उल्लेख छ । एउटै सालको रुखको काठबाट उक्त काष्ठमण्डपको निर्माण भएको बताइँदै आएको छ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयवासीलाई दिइएको छ । महानगरले काष्ठमण्डपको निर्माणका लागि अहिलेसम्म जेठ २९ गते ५० लाख रुपैयाँ र असोज २७ गते ५ करोड गरी जम्मा साढे ५ करोड रुपैयाँ रकम सहयोग गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको लागि करिब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरेपनि काष्ठमण्डप पुनर्निर्माणका लागि गठित समिति, काष्ठमण्डप पुनर्निर्माण समितिले काष्ठमण्डपको निर्माण लागत कति लाग्छ भन्ने अनुमानित बजेट अहिले नै सार्वजनिक गर्न नसकिने बताएको छ ।
समितिले काष्ठमण्डपको निर्माणका लागि टेन्डर आह्वान नगरी उपभोक्ता मोडलमा आवश्यक दक्ष जनशक्ति आफैले खोजेर निर्माणको काम अगाडि बढाइरहेको छ । गत वैशाख ३१ गते क्षमापूजा गरी काष्ठमण्डपको निर्माण शुभारम्भ गरिए पनि औपचारिक रुपमा गत कात्तिक २२ गतेबाट शुभारम्भ गरिएको हो ।
पुरानै शैलीमा अर्थात पुरातात्विक ढंगले प्यागोडा शैलीमा नै निर्माण हुने काष्ठमण्डप तीन तले हुने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । निर्माण सुरु गरिएको मितिबाट ३ वर्षभित्रमा काष्ठमण्डपको निर्माण सम्पन्न गर्नुपर्ने छ भने त्यसमध्ये आगामी असार मसान्तसम्म काष्ठमण्डपको एक तल्ला निर्माण सम्पन्न गर्ने लक्ष्य समितिको छ ।
काठैकाठबाट बन्ने काष्ठमण्डप पुननिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । त्यसैले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनर्निर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने समितिले जनाएको छ ।
त्यसमध्ये केही प्रतिशत काठ उपलब्ध भइसकेको समितिको भनाई छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार २०७२ को भूकम्पबाट देशभरका सात सय ५३ वटा सम्पदा क्षतिग्रस्त भएका छन् । त्यसमध्ये काठमाडांै उपत्यका भित्र मात्रै चार सय ९४ सम्पदा छन् ।