काठमाडौं, २ माघ । थ्री स्टार क्लव मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारले मेची नेत्रालयलाई पराजित गरेको हो ।
खेलको ६९ औं मिनेटमा थ्री स्टारले अग्रता लियो । थ्री स्टारका लागि बुद्ध चेम्जोङले दिएको हेडर पासमा रुपेश केसीले गोल गरेका थिए । ८० औं मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्यो । सुनील बलले थ्री स्टारका लागि दोस्रो गोल गरेका थिए ।
उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको म्यान अफ द म्याच भएका छन् । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ ।
फाइनल खेल शनिबार हुनेछ । मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।