धनगढी, १ माघ । सुदुरपश्चिम खप्तड गोल्डकप अन्तरगत मंगलवार भएको खेलमा सीएमजी क्लब संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । दाउफिन्स फुटबल क्लब क्यामरुनलाई १–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका हुन । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
संकटाले अब बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमीफाइनलमा थ्री स्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ । मोफसलकै सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्ने छ ।
०००