‘रोज’ का कलाकार र प्राविधिकले पाएनन् पारिश्रमिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘रोज’ का कलाकार र प्राविधिकले पाएनन् पारिश्रमिक

pradeep khadka-paramita rana

काठमाडौं, २८ पुस । फिल्म निर्माण भइसके पनि वा प्रदर्शनमा आइसकेपछि पनि कलाकार तथा प्राविधिकहरुले पारिश्रमिक नपाएको गुनासो प्रायः छताछुल्ल हुने गरेको छ । सुटिङमै खल्ती रित्तिएपछि कति निर्माता त सम्पर्कमा नै आउँदैनन् । हालै अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट बरिष्ठ कलाकार राजाराम पौडेलले पारिश्रमिक नपाएको गुनासो पोखेका थिए । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् ।

यहाँ धेरै कलाकार तथा प्राविधिक छन्, जसले काम गरेको पारिश्रमिकको आधा रकम त टाढाको कुरा सय रुपैयाँको अनुहार समेत हेर्न पाएका छैनन् । यसबीच यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रोज’ का कलाकार, प्राविधिक तथा संगीतकार कसैले पनि पारिश्रमिक नपाएको खबर बाहिरिएको छ । फिल्मका प्रमुख कलाकारले नै पारिश्रमिक नपाएको गुनासो पोखेका छन् ।

फिल्मका लिड अभिनेता प्रदीप खड्काले सम्झौता अनुसार आफूले अझै मोटो रकम नपाएको फिल्मीखबरसँग बताएका छन् । पटक-पटक निर्माण टिमलाई पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको पनि आफ्नो कुरा नसुनेको उनले बताए । अब भने उनी निर्माता विरुद्ध मुद्धा हाल्ने सोचमा छन् । उनले यो फिल्म २५ लाखमा साइन गरेका थिए ।

‘फिल्म साइन गर्दा १५ लाख बुझेको थिएँ । त्यसपछि मैले १० लाखको चेक पाएँ तर तीन पटक बाउन्स भइसक्यो’, प्रदीपले गुनासो पोखे । उनी निर्माताले पारिश्रमिक दिन नसक्ने बताए आफूलाई नचाहिने पनि बताउँछन् । ‘यो मेरो पनि फिल्म हो । पारिश्रमिक दिनै निर्माताले नसक्ने अवस्था छ भने म मेरो पारिश्रमिक छाड्न तयार छु । तर, निर्माताले फिल्म घाटामा गएको समेत भन्नुभएको छैन’, उनले भने ।

केही दिनमा नेपाल आएर फेरि निर्माता तथा निर्देशक निरक पौडेलसँग भेट गर्ने उनले बताए । उनी भन्छन्, ‘फिल्मको गीत ‘फूल हैन’ माथि म्युजिकल्ली प्रतिस्पर्धा पनि घोषणा गरिएको थियो । विजेतालाई एक लाख पुरस्कार दिने भनिएको थियो । त्योसम्म निर्माताले पूरा गरेका छैनन् । यो त मैले झुट बोलेको जस्तो देखिन्छ । यसले मेरो प्रोफेसनल लाइफमा समेत असर गर्छ ।’

फिल्मका अर्का कलाकार वरुण सम्सेर जंगबहादुर राणाले पनि फिल्म ‘रोज’ बाट आफूले पारिश्रमिक नपाएको बताएका छन् । यस्तै, फिल्मको भिएफएक्स गरेका श्रीकृष्ण श्रेष्ठले गुनासो पनि यस्तै छ । उनी भन्छन्, ‘१ लाख पाउन बाँकी थियो । अहिलेसम्म पाएको छैन ।’ फिल्मका संगीतकार एलिस कार्कीले पनि दुई गीतको साढे ३ लाख पारिश्रमिक अझै पाएका छैनन् । अभिनेता कर्माले पनि पारिश्रमिक पाएका छैनन् ।

स्रोतका अनुसार, फिल्म निर्माण कम्पनी आरोही इन्टरटेन्मेन्टेले निर्माण अगावै गोपीकृष्ण मुभिजलाई एक करोड थमाएको थियो र कलाकारदेखि टेक्निसियनको पारिश्रमिक सबै गोपीकृष्णले दिने सहमती भएको थियो । तर, ब्यानरले कागजी सम्झौताको पालना गरेको छैन । आरोही इन्टरटेन्मेन्टका मनिकर्ण केसीले आफूले सबैको पारिश्रमिक गोपीकृष्ण मुभिजले दिने गरि सम्झौता गरेको बताए ।

फिल्मबाट अभिनेत्री परमिता आरएल राणाले पनि पारिश्रमिक पाएकी छैनन् । उनले पटक-पटक पारिश्रमिकको बारेमा कुरा गरे पनि निरक वेवास्था गर्दै हिँडिरहेका छन् । निरक अहिले मोवाइलमा आगमन कल निषेध गरेर बसेका छन् । उनले पारिश्रमिक दिन बाँकी कलाकार तथा प्राविधिकलाई आफू यूरोपमा रहेको बताउने गरेको स्रोत बताउँछ । तर, उनी नेपालमै रहेको बुझिएको छ । फिल्मीखबरबाट 

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);