काठमाडौं, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले वरिष्ठ चिकित्सक गोविन्द केसीले सांसदलाई अपमानित हुने गरी टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाएका छन ।
सांसद भट्टराईले वरिष्ठ चिकित्सक केसीले सोमबार बिहान पत्रकार सम्मेलनमा आफूलगायतका सांसदमाथि ‘माफियाको पक्ष लिएको’ आरोप लगाएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका हुन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले वरिष्ठ चिकित्सक केसीका टिप्पणीहरुले आफ्नै स्तर घटाएको दाबी गरे ।
सांसद भट्टराईले राष्ट्रिय चिकित्सा विधेयक संसदको सम्पत्ति भएकाले त्यसलाई संसदीय प्रक्रिया भित्रैबाट टुंगो लगाउने बताए । समितिको बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले भने वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै सो विधेयक समितिमा पारित हुनुपर्ने अडान राखेका थिए ।
सांसद थापाले अडान लिएपछि समितिले विधेयकका सम्बन्धमा ठोस निर्णय लिन सकेन । उपसमितिको बहुमतले पारित गरेको सो विधेयकमा वरिष्ठ चिकित्सक केसीले आपत्ति जनाउँदै शिक्षा तथा स्वास्थ्य समितिले तत्काल नसच्याए पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन
।




