तंग्रियो नगरकोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तंग्रियो नगरकोट

green valley hotel

भक्तपुर, २१ पुस । पर्यटकीय स्थल नगरकोटमा भूकम्पले भत्काएका अधिकांश होटल पुनः ठडिएका छन्। भूकम्प र त्यसपछिका परकम्पले १२ वटा ठूला होटल ध्वस्त भएका थिए। त्यति नै संख्याका ठूला होटलमा आंशिक क्षति पुगेको थियो। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अनुसार भूकम्पमा ध्वस्त ठूला १२ होटलमध्ये १० वटाको पुनर्निर्माण भई सञ्चालनमा आएका छन्।

स्पेस माउन्टेन होटल पुरानो सञ्चालकले बिक्री गरेपछि पुनर्निर्माणमा ढिलाइ भएको हो। स्नो म्यान होटल पनि पुनर्निर्माण हुन सकेको छैन। स्नोम्यानका भग्नावशेष अहिले पनि जस्ताको तस्तै छ। भ्यू प्वाइन्ट, ग्रीन भ्याली, पिसफुल कटेज, फोडजस्ता ठूला होटल पनि ध्वस्त भएका थिए। यी सबै होटल सञ्चालनमा आएको भ्यालीका सञ्चालक बद्रीप्रसाद माकले जानकारी दिए।

नगरकोटमा चौधरी समूहको प्रवेश

नेपाली उद्योग व्यवसायमा नाम कमाएको चौधरी समूहले नगरकोटको होटल व्यवसायमा प्रवेश गरेको छ। चौधरी समूहका अरुण चौधरीले नगरकोटस्थित भंगेरी दरबार होटल खरिद गरेका हुन्। यसअघि भंगेरी दरबार किशोरराज पाण्डेले सञ्चालनमा ल्याएका थिए। २०७२ सालको भूकम्पले भंगेरी दरबारमा आंशिक क्षति पुर्‍याएको थियो। मर्मत गरेर सञ्चालनमा आइसकेको उक्त होटल ६ महिनाअघि अरुण चौधरीले खरिद गरेका हुन्।

थपिँदै नयाँ होटल

भूकम्पपछिको पुनर्निर्माणसँगै यहाँ होटल थपिने क्रम रोकिएको छैन। पछिल्लो समय यहाँ दुई ठूला होटल थपिएका छन्। करिब ७० वटा कोठाको मिस्टिक माउन्टेन र ३५ वटा कोठा भएको होटल सांग्रिला भ्यू होटल बनिरहेका छन्। त्यस्तै एक दर्जनभन्दा बढी अन्य स–साना होटल तथा रिसोर्ट थपिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले जानकारी दिए।

उनका अनुसार भूकम्पअघि नगरकोटमा एकदिनमा करिब एक हजार पर्यटकलाई मात्रै बास दिनसक्थ्यो तर भूकम्पपछि यो क्षमता दोब्बर भएको छ। ‘अहिले नगरकोटका ठूलासाना गरी सबै होटलका कोठा एक हजार वटा पुगिसकेको छ’, उनले भने, ‘नगरकोट पुगेका पर्यटकले यहाँ बस्ने ठाउँ छैन भनी फर्कनुपर्ने बाध्यता अहिले छैन।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);