करोडौँ रुपैयाँ कर छल्दै 'हयाप्पी आवर क्यासिनो' | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

करोडौँ रुपैयाँ कर छल्दै ‘हयाप्पी आवर क्यासिनो’

casino

विवेक विश्वकर्मा
रुपन्देही, २६ जेठ
। नेपालमा सात वटा ठूला क्यासिनो र ३ वटा मिनि क्यासिनो संचालित छन् । तीमध्ये कतिपयले सरकारी मापदण्ड मिचेर राज्यलाई करोडौँ रुपैयाँ कर छलिरहेका छन् । तर, नियमनकारी निकाय देखेर पनि नदेखेजस्तै गरी बसेका छन् ।

हयाप्पी आवर प्रालि नामको क्यासिनोले देशभर चारवटा शाखा खोल्ने अनुमति पाएको छ । तर, नेपालगञ्जको होटल स्नेहा, काँकडभित्ताको होटल ढाका, महेन्द्रनगरको होटल स्वीट ड्रीम, भैरहवाको होटल लाकौल र भैरहवाकै होटल नान्स गरी उसका पाँच शाखा संचालनमा देखिन्छ । हरेक क्यासिनोले प्रत्येक शाखा बराबर ७५ लाख प्रतिवर्ष कर तिर्नुपर्छ । एउटा क्यासिनोको कर छल्दा राज्यलाई डेढ वर्षमा मात्रै सवा करोड रुपैयाँ नोक्सान पुगेको देखिन्छ ।

भैरहवाका होटल लाकौल र होटल नान्स होटलमा हयाप्पी आवर प्रालि क्यासिनोका दुईवटा शाखा सञ्चालनमा रहेका छन् । यी दुई शाखा आपसमा ५० मिटरको दूरीमा छन् । ह्याप्पी आवरले प्रहरीको सेटिङमा अवैधानिक तवरले मिनि क्यासिनो सञ्चालन गरिरहेको उसले चेकजाँचमा जाने अनुसन्धान अधिकृतलाई देखाउने कागजातबाट प्रष्ट देखिन्छ । हयाप्पी आवर मिनि क्यासिनोका व्यवस्थापक झपेन्द्र दंगासे आफ्नो क्यासिनो वैध भएको तर होटल नान्समा सञ्चालित मिनि क्यासिनो अवैध भएको दाबी गर्छन ।

सीमा क्षेत्रमा खोलिएका मिनी क्यासिनोहरुमा दैनिक १५ लाख रुपैयाँसम्मको कारोबार हुने गर्दछ । ठूलो कारोबार गर्ने क्यासिनोहरु अबैधरुपमा संचालन भइरहँदासमेत राज्यका निकाय मौन बसेका छन् । रुपन्देहीका प्रमख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै पक्षलाई बोलाएर छलफल गरिएको र थप अनुसन्धान भइरहेको बताउनुभयो ।

बिहीबार प्रशासन कार्यालयमा भएको छलफलमा ह्याप्पीका संचालकले आफ्नो क्यासिनो बैधानिक भएको भन्दै विभिन्न निकायबाट प्राप्त प्रमाण पेस गरेका थिए । तर रुपाका संचालकले भने कुनै प्रमाण पेस गर्न सकेनन् ।

ताजा समाचार