एसपी बढुवाको बाटो खुलेन | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

एसपी बढुवाको बाटो खुलेन

loksewa aayog

काठमाडौं, २१ पुस । साढे तीन महिनादेखि खाली नेपाल प्रहरीका १५ एसएसपीको पदपूर्ति तत्काल गर्न प्रहरी नियमावली संशोधन गर्न लागिएकोमा लोकसेवा आयोगले अस्वीकार गरेको छ । लोकसेवाले प्रहरी नियमावली संशोधन गर्न नमिल्ने राय गृह मन्त्रालयलाई दिएको हो ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान हेरफेर गरेर तीनवर्षे पदावधि कायम गर्दै बढुवा प्रक्रिया बढाउने तयारीमा मन्त्रालय थियो । तर, लोकसेवाले प्रावधान फेर्न सहमति नदिएपछि अब आगामी फागुनमा मात्रै एसएसपीमा बढुवा हुने भएको छ । अहिलेका एसपीहरूको पदावधि १० फागुनमा चार वर्ष पुग्छ ।

लोकसेवाले नियमावली परिवर्तन गर्नुभन्दा संघीय प्रहरी ऐनमै एसपी बढुवाका लागि तीनवर्षे पदावधिको प्रावधान राख्न सुझाब दिएको छ । संघीय प्रहरी ऐनको मस्यौदा ६ महिनादेखि कानुन मन्त्रालयमा छ । कानुन मन्त्रालयले नियमावली संशोधनका लागि समेत सहमति दिएको थियो । सर्वाेच्च अदालतले बढुवाबाट पूर्ति हुने कुनै पनि पदमा तीन महिनाभित्र बढुवा गर्न सरकारलाई आदेश दिएको थियो ।

सर्वाेच्च अदालतको आदेशअनुसार नै नियमावली संशोधन प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिका पदाधिकारीलाई कारबाही गर्नसमेत सर्वाेच्चको फैसलामा भनिएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।