काठमाडौं, १८ पुस । कम्पनी ऐन २०६३ लाई संशोधन गर्नका लागी बनेको विधेयकलाइ समय सापेक्ष बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन । नेपाल कानुन आयोगद्वारा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनी ऐन २०६३ लाइ संशोधन गर्न बनेको विधेयकबारे छलफलका सहभागीहरुले यस ऐनलाई समय सापेक्ष परिमार्जित गर्दै लैजानुपर्ने बताए ।
ऐनमा दायित्वभन्दा बढी सम्पत्ती भएको अवस्थामा मुनाफा वितरण नगर्ने कम्पनीले बाहेक प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने व्यवस्था गरिएको छ । तथापि बेलाबखत जारी गरिने एफपीओका सम्बन्धमा केही उल्लेख नगरिएको भन्दै सहभागीहरुले सच्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिकाप्रसाद यादवले विधेयकमा थप छलफल गरेर मात्रै अगाडी बढने बताए । उनले जानी जानी गल्ती गर्नेलाई कानुनले नछोडने उल्लेख गरे ।
कम्पनी ऐनलाई संघियता अनुरुप परिमार्जन गर्नुपर्नेमा सहभागीहरुको जोड रहेको थियो ।




