राकेश यादव
रौतहट, १३ भदौ । दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै रौतहटमा चुनावी चहलपहल बढेको छ । विभिन्न राजनीतिक दलहका नेताहरु मतदाताको घरघरमा पुगि मन जित्ने प्रयास गरिरहेका छन् ।
चुनाव नजिकिएसँगै राजनीतिक दलका नेताहरुले बाढी अति प्रभावित रौतहटका पीडितहरुलाई भेटेर सान्त्वना दिन थालेका छन् । रौतहटका जनताका लागि अहिले आवश्यक मानिएको राहतको आश्वासन दिँदै उनीहरु मत माग्नमा व्यस्त छन् ।
यता स्थानीय नागरिक भने बाढी र डुबान पछि आफूहरुले भोगेका समस्याप्रति राजनीतिक दलहरुले चासो नदिएको बताउँदै आएका छन् । आफूलाई आपत परेका बेला सहयोग गर्ने राजनीतिक दललाई मात्र मत हाल्ने बाढी पीडितले बएका छन् ।
नेताहरु मत माग्न गाँउगाँउ डुलिरहेका छन् । यता मतदातालाई मतदान केन्द्रसम्म जाने बाटो बाढीले बगाएका कारण मतदाता अलपत्र पर्ने अवस्था छ ।
अहिलेसम्म बाढी प्रभावित अधिकांश पीडितको अवस्था सुधार हुन सकेको छैन । त्यसैले बाढी प्रभावित रौतहटबासीलाई अहिले अनेकन आश्वासन भन्दा पनि तत्कालका लागि उनीहरुको गाँस वासको व्यवस्थापन जरुरी देखिन्छ ।