काठमाडौं, १४ पुस । राजधानीमा जाडोयाम शुरू भएसँगै आगलागीका घटना बढ्न थालेका छन्। पुस महिना लागेसँगै काठमाडौंमा दैनिक आगलागीका घटना बढ्न थालेका हुन्।
यो महिनामा झन्डै एक दर्जन आगलागीका घटना भएको दमकल कार्यालयले जनाएको छ। बिहीबार क्षेत्रपाटीस्थित जुत्ता गोदाममा आगलागी भयो। पुस १ गते त्रिवि शिक्षण अस्पतालको होस्टलमा आगलागी भएको थियो। पुस ३ गते खिचापोखरीस्थित पिपल्स प्लाजामा आगलागी भयो। सोही दिन सर्वोच्च अदालतको पुरानो फैसला कार्यालयमा, ९ गते त्रिचन्द्र क्याम्पसको जेनेरेटर राख्ने स्थानमा र बूढानीलकण्ठमा आगालागी भएको थियो।
यस्ता आगलागीका धेरैजसो घटना विद्युतीय उपकरण सर्ट भएर र ग्यास लिक भएर हुने गरेको छ। ‘अहिले त हामी २४सै घण्टा अलर्ट अवस्थामा छौं, कहिले कहाँ आगालागी हुन्छ थाहै हुँदैन। जाडो बढ्नासाथ राजधानीमा आगलागीका घटना अत्यधिकरूपमा बढ्न थालेको छ।’ –जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले भने।
आगलागीका घटना बढ्न थालेपछि वारुण यन्त्र कार्यालयले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
कामपा वारुणयन्त्र महाशाखा प्रमुख यादव घिमिरेले जनता आफै सचेत भएर आगलागी हुन सक्ने यन्त्र सञ्चालन गर्दा ध्यान दिनुपर्ने बताए। आगलागीका घटना न्यूनीकरण गर्न महानगरले हरेक ठूला भवनमा फायर इस्टिङगुइजर (अग्नि नियन्त्रक यन्त्र) राख्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न लागेको उनले बताए।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।





