काठमाडाैं । पछिल्लो केही दिनयता आगलागीका घटना बढेका छन् । गत दुई दिनकाे तथ्याङ्क अनुसार देशभर १४ वटा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुर पूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा आगलागीका घटना भएका हुन् ।
प्राधिकरणका अनुसार भाइटीकाको दिन बिहीबार पनि १३ वटा आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा आगलागी भएको थियो ।
यस्तै, पाल्पामा एकैदिन तीन वटा आगलागीका घटना भएका थिए । गएको बुधबार पनि १७ वटा आगलागीका घटना भएका प्राधिकरणको तथ्याङ्क छ । मनसुन सकिएको, पानी पर्न छोडेको र यही बेला मुख्य चाडपर्व परेका कारण देशभर आगलागीका घटना बढेको पाइन्छ ।
पूर्वसावधानी तथा चेतना अभावमा आगलागीका घटना बढेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले आगलागीजन्य घटना हुनबाट जोगिनका लागि आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।





