जंगलमै सड्दै अर्बौँ मूल्यको काठ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

जंगलमै सड्दै अर्बौँ मूल्यको काठ

Fast Track Ko Kath Kuhina Thale

काठमाडौं, १४ पुस । वन मन्त्रालयले वार्षिक रूपमा १६ लाख क्युफिट काठ निकाल्ने गरेको छ । दाउराका रूपमा १२ सय ६३ चट्टा निकाल्ने गरेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । तर, केही समययता सरकारले नियमित रूपमा काठ निकाल्न नसक्दा अर्बौँ मूल्यको काठ जंगलमै कुहिएको छ । नेपाली काठ जंगलमै रहँदा व्यवसायीहरूले भने विदेशबाट काठ आयात गर्दै आएका छन् । वन मन्त्रालयले काठमा आत्मनिर्भर हुने अवधारणा ल्याए पनि गत वर्ष मात्र वार्षिक साढे चार अर्बको काठ र काठजन्य सामग्री विदेशबाट आयात भएको छ ।

टिम्बर कर्पोरेसनका चार काठ मिल बन्द
अर्बौँ मूल्यका काठ जंगलमै कुहिए पनि सरकारकै स्वमित्वमा सञ्चालन भएको द टिम्बर कर्पोरेसनका आठमध्ये चार काठ मिल बन्द भएका छन् । नियमित काठ आर्पूिर्त नहुँदा २० देखि २५ लाख रुपैयाँमा स्थापना भएका काठ मिल बन्द हुन पुगेका हुन् । स्वदेशमै भएको काठ जंगलबाट आउन छाडेपछि मिल बन्द गर्नुपरेको द टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धक राजु लौडारीले बताए ।

यी हुन् बन्द भएका काठ मिल
चितवनको भरतपुरमा भएको काठ मिल गत वर्षको जेठ महिनामा बन्द भएको हो । मकवानपुरको हेटौँडाको असोजदेखि, पर्साको वीरगन्ज र नवलपरासीको डण्डामा राखिएको मिल गत मंसिरदेखि बन्द भएको द टिम्बर कर्पोरेसनले जनाएको छ ।

कति छ टिम्बर कर्पोरेसनमा काठ ?
गत मंसिर मसान्तसम्मको द टिम्बर कर्पोरेसनको तथ्यांकअनुसार कुल दुई लाख ३५ हजार ४ सय ३५ दशमलव १९ क्युफिट मौज्दात छ । जसमा साल एक लाख ८६ हजार ३ सय ८८ दशमलव ४० क्युफिट, खयर १२ हजार ९ सय ५३ दशमलव ९० क्युफिट, सिसौ ४ हजार ७ सय १६ दशमलव १ क्युफिट र अन्य ३१ हजार ३ सय ७६ दशमलव ८८ क्युफिट काठ छ । बाँकेको शमशेरगन्जमा ५ हजार ६ सय ४८ दशमलव ७० क्युफिट काठ मौज्दात छ ।

यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।