खगेन्द्र घिमिरे
झापा, ९ पुस । झापाको एक स्थानीय तहको कार्यालयले एउटै नम्बर प्लेटको दुई वटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ । कार्यालयका कर्मचारी भने सामान्य गल्ती हो भनेर पन्छिन खोजेका छन् ।
झापाको बाह्रदशी गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको एउटै नम्बरको दुई वटा मोटरसाइकल खुलेआम प्रयोग गरिरहेको खुलासा भएको छ । कार्यालय परिसरमा राखिएको दुबै मोटरसाइकलमा एउटै नम्बर मे १ ब ७४९ नम्बर देखिन्छ ।
दुवै मोटरसाइकल गाउँपालिकाका कर्मचारी चढ्दै आएका छन् । एउटा मोटरसाइकल लेखा अधिकृत सेवकबिक्रम राई र अर्को मोटरसाइकल इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रयोग गर्दै आईरहेका छन् । यस विषयमा थप खोजी गर्दा एउटा मोटरसाइकलको नम्बर मे १ ब ७५६ रहेको भेटिएको छ ।
२०७५ साल असोज २९ गते मेची यातायात व्यवस्था कार्यालयमा दर्ता भएको एउटा मोटरसाइकलको सही नम्बर ब्लुबुकबाट खुलेको हो । गाउँपालिकाका कर्मचारीले ब्लुबुक देखाउन नमाने पछि अर्काे मोटरसाइकलको नम्बर भने खुल्न सकेको छैन । गाउृँपालिका कार्यालयले नम्बर एउटै भएको जानकारी भर्खर मात्रै पाएको भन्ने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी भने लेखाइमा भएको एउटा सामान्य गल्ती मात्र हो भन्दै पन्छिएका छन् । गाउँपालिका अध्यक्षले यसो भनेपनि स्थानीयवासीले भने यसलाई चरम लापर्बाहीको संज्ञा दिएका छन् ।
गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको भनाईलाई सुन्दा घटना सामान्य जस्तो लाग्छ । गाउँपालिकाले एउटै नम्बरको दुई वटा मोटरसाइकल कार्यालयमा हुँदा पनि यस विषयमा चाँसो देखाएको छैन । तर, गाउँपालिकाको यस्तो लापरबाहीले गल्ती गर्नेलाई मनोबल बढाउनुका साथै यातायात व्यवस्था र ट्राफिक नियमको उपहास गरेको छ ।