दलहरू प्रदेश नं. २ मा केन्द्रित : निर्वाचनका लागि नेता जिल्ला खटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १३  भदौ । कांग्रेसका पदाधिकारीसहित १४ केन्द्रीय सदस्य र ४० सांसद प्रदेश नम्बर २ मा खटिएका छन् । उनीहरू त्यही क्षेत्रका हुन् । आवश्यकता भए थप केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको तयारी छ । कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री विमलेन्द्र निधि, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसहितका १४ केन्द्रीय सदस्य २ असोजमा तेस्रो चरणको स्थानीय निर्वाचन हुने प्रदेश नम्बर २ कै बासिन्दा हुन् ।

 

यही प्रदेशबाट निर्वाचित र समानुपातिक गरी ४१ जना सांसदले प्रतिनिधित्व गर्ने भएकाले जिल्लाबाट माग भए मात्र केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ । ‘प्रदेश नम्बर २ बाट १४ केन्द्रीय सदस्य र ४१ सांसदले प्रतिनिधित्व गर्नुहुन्छ । त्यहाँ नेताहरू पर्याप्त हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले आवश्यकता महसुस गर्नुभयो भने मात्र केन्द्रले नेताहरू पठाउँछ ।’

 

जिल्लाका नेता पनि काठमाडौंमा
महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू विमलेन्द्र निधिसहितका प्रदेश नम्बर २ का केन्द्रीय सदस्यहरू, ८ जिल्लाका सभापति, क्षेत्रीय सभापति, सांसद, सांसदमा हारेका उम्मेदवार, क्षेत्रीय सभापतिका निकटतम् प्रतिद्वन्द्वीसहितको टोली उम्मेदवार टुंग्याउन व्यस्त छ । क्षेत्रीय समिति र जिल्लाबाट आएका उम्मेदवारको सूचीमा सुझाब दिन जिल्लाबाट नेताहरू काठमाडौंमा आउने–जाने क्रम जारी छ ।

 

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नेताहरू काठमाडौंकेन्द्रित भएका छन् । जिल्लाबाट आएका सिफारिसमा उनीहरूले केन्द्रका नेताहरूलाई जानकारी गराउने गरेका छन् । उनीहरूको सुझाबपछि केन्द्रले उम्मेदवारको अन्तिम टुंगो लगाउने भएको छ । उम्मेदवार टुंग्याउन अझै दुई दिन लाग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । अन्तिम टुंगो लगाउँदा भने शीर्ष नेताबीच नै समझदारी गर्ने तयारी छ ।

 

बाढीपीडितका लागि नेता जिल्लामा
केही दिनअघिको बाढीपछि कांग्रेसका नेताहरू तराईमा राहत सामग्री लिएर जाने र फर्किने क्रम छ । तर, निर्वाचनको तयारीस्वरूप भने नेताहरू नगएको केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए । केन्द्रले प्रदेश नम्बर २ मा उम्मेदवारको टुंगो लगाएपछि मात्र जिल्लाको आग्रहअनुसार केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
शीर्ष नेताको प्रदेश नम्बर २ मा जाने सूची छैन।

 

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालाको पनि तत्काल प्रदेश नं. २ मा जाने कार्यक्रम छैन । टिकट टुंगिएपछि मात्र आवश्यकता हेरेर जिल्लामा कार्यक्रम राख्ने तयारी उनीहरूको छ । प्रदेश नम्बर २ बाटै प्रतिनिधित्व गर्ने कोषाध्यक्ष सीतादेवी यादव भने सिरहासहितका जिल्ला जाने–आउने गर्दै आएकी छिन् ।

 

प्रदेश नम्बर २ का केन्द्रीय सदस्य
कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, चित्रलेखा यादव, प्रदीप गिरि, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना, रमेश रिजाल, अजयकुमार चौरसिया, उमाकान्त चौधरी, कल्याण गुरुङ, किरण यादव, महेन्द्र यादव, राधेचन्द्र यादवले प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्छन् । जसमा पनि धनुषाबाट मात्रै चार केन्द्रीय सदस्य र १४ सांसदले प्रतिनिधित्व गर्छन् । सप्तरी, सर्लाही, रौतहटबाट केन्द्रीय सदस्य कोही पनि छैनन् ।

 

सिरहा र धनुषामा प्रभावशाली नेताहरू छन् । कोषाध्यक्ष सीतादेवी यादवसहित सिरहाबाट प्रदीप गिरिले प्रतिनिधित्व गर्छन् । धनुषाबाट विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवले प्रतिनिधित्व गर्छन् । यी सबै केन्द्रमा राम्रो प्रभाव पार्ने नेता हुन् । यसपटक प्रदेश नम्बर २ मा उम्मेदवार टुंग्याउनका लागि विमलेन्द्र निधि बढी हाबी छन् । निधि हाबी भएकोप्रति केन्द्रीय सदस्य शेखर कोइरालाले सामाजिक सञ्जालमै आपत्ति जनाइसकेका छन् ।

 

निर्वाचन आयोगको तयारी पूरा
२६,६९२ सुरक्षाकर्मी खटाइने

निर्वाचन आयोगले १२ भदौबाट एक सय ६३ स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ । जहाँबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । त्यसमध्ये एक हजार २७१ वडाध्यक्ष हुनेछन् । प्रदेश नं. २ मा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । बुथ सुरक्षाका लागि २६ हजार ६९२ जना सुरक्षाकर्मी परिचालित छन् । आयोगका अनुसार मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित ठाउँमा पुगिसकेका छन् ।

 

बालबालिका प्रयोगमा रोक
निर्वाचन आयोगको पहलमा शिक्षासँग सरोकार राख्ने निकायहरूले निर्वाचनमा बालबालिका प्रयोगमा रोक लगाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार आयोगको कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निजी विद्यालयका छाता संगठन तथा शिक्षा मन्त्रालय र शिक्षा विभागका प्रतिनिधिले निर्वाचनसम्बन्धी गतिविधिमा बालबालिकाको प्रयोग गर्न नदिनेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

एमाले शीर्ष नेताहरू मधेसमा सक्रिय
स्थानीय तहको चुनावी प्रचारमा एमाले शीर्ष र स्थायी समितिका नेताहरू प्रदेश नं. २ मा खटिएका छन् । कार्यबाहक अध्यक्ष वामदेव गौतम, नेता माधवकुमार नेपालसहितका नेताहरू तीन दिनदेखि चुनावी प्रचारमै छन् । गौतम उम्मेदवारको नाम टुंग्याउन बाराको सिमरा पुगेका छन् भने नेपाल पर्साको वीरगन्ज महानगरपालिका र विभिन्न गाउँपालिकाद्वारा आयोजित चुनावी प्रचार र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

 

बारामा गौतमसँगै उपमहासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे पनि खटिएका छन् भने सचिव गोकर्ण विष्ट जनकपुर पुगेका छन् । त्यस्तै, पर्सामै स्थायी समिति सदस्य शंकर पोखरेल कार्यकर्ता प्रशिक्षण र चुनावी प्रचारका कार्यक्रममा सहभागी भइरहेका छन् । ‘उपलब्ध नेताहरू अहिले प्रदेश नं. २ मा सक्रिय हुनुहुन्छ,’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अध्यक्ष र महासचिव विदेशबाट फर्किएपछि तराईमै केन्द्रित हुनुहुन्छ ।’

 

५ जिल्लामा टुंगियो उम्मेदवार
एमालेले सोमबार अबेरसम्म प्रदेश नं. २ का थप पाँच जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । सप्तरी, सिरहा, बारा, पर्सा र सर्लाहीका तहहरूको उम्मेदवार टुंगो लागेको प्रदेश संयोजक सत्यनारायण मण्डलले बताए । धनुषा, रौतहट र महोत्तरी जिल्लाका उम्मेदवारको नाम पनि रातभर टुंगो लगाएर मंगलबार सार्वजनिक गर्ने उनले जनाए । ‘हामी बैठकमै छौँ । मंगलबार सबै नाम बाहिर आउँछ,’ मण्डलले भने, ‘एकाध ठाउँमा मात्रै उम्मेदवारको नाम फेरबदल हुनेछ ।’

 

प्रदेश नं. २ का एक सय ३६ स्थानीय तहको उम्मेदवारको नाम टुंगो लगाउन दुई दिनदेखि एमालेको संयन्त्र बैठक बसिरहेको छ । एमालेले यसअघि नै वीरगन्ज महानगरपालिकाको मेयरमा बसुरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उठाउने निर्णय गरिसकेको छ । कलैया उपहानगरपालिकाको मेयरमा विनोद शाह र जितपुर उपमहानगरपालिकामा डा. कृष्ण पौडेल, लाहान नगरपालिकामा मुन्नीलाल शाहलाई उठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । जनकपुर उपमहानगरपालिकाको उम्मेदवारबारे भने अझै टुंगो लागिसकेको छैन ।

 

कुन नेता कुन जिल्लामा खटिए ?
स्थायी समितिले पदाधिकारीलाई जिल्ला नै तोकेर चुनावका लागि यसअघि नै खटाइसकेको छ । जसअनुसार महासचिव पोखरेल, धनुषा, उपमहासचिव पौडेल पर्सा, अर्का उपमहासचिव घनश्याम भुसाल रौतहट, सचिवहरू प्रदीप ज्ञवाली सिरहा, योगेश भट्टराई धनुषा, पृथ्वीसुब्बा गुरुङ महोत्तरी र भीम आचार्य सप्तरीमा खटिएका छन् ।

 

माओवादीको कमान्ड प्रचण्डले नै सम्हाल्ने
माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अध्यक्ष प्रचण्डले नै कमान्ड सम्हाल्ने गरी रणनीति बनाएको छ । उनले मंगलबार जनकपुरमा आयोजना गरिने निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

 

‘कुन जिल्लामा कस्तो रणनीति लिनुपर्ने हो । सोहीअनुसार अध्यक्षले जिम्मेवारी दिएर नेता परिचालन गर्नुहुनेछ,’ प्रवक्ता पम्फा भुसालले भनिन् । प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवको नेतृत्वमा पनि टोली सक्रिय छ । पर्सामा उर्मिला अर्याल, रौतहटमा प्रभु साह, महोत्तरीमा गिरिराजमणि पोखरेल, सिरहामा विश्वनाथप्रसाद साह र अजयशंकर नायक, धनुषामा मातृका यादव र रामचन्द्र झालगायतका नेता खटिएका छन् । माओवादीले बुधबारसम्म उम्मेदवारको टुंगो लगाउने छ ।

 

राजपाले पनि नेताहरू जिल्ला खटायो
प्रदेश नम्बर २ को निर्वाचनका लागि राजपाका केन्द्रीय नेताहरू जिल्ला केन्द्रित भएका छन् । उम्मेदवार टुंगो लगाउन तथा प्रचारप्रसार गर्न नेताहरू जिल्ला झरेका हुन् । तर, अहिलेसम्म उम्मेदवारको नाम टुंगो लागेको छैन । १६ भदौसम्म उम्मेदवारको नाम टुंगो लगाउने तयारीमा राजपा लागेको छ ।

 

राप्रपाले बनायो निर्वाचन परिचालन समिति
राप्रपाले प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहमा हुने निर्वाचनका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । सदस्यसचिवमा सांसद सुशील श्रेष्ठ तथा सहसचिवमा शत्रुधन महासेठ र चन्द्रेश्वर यादव तोकिएका छन् । सदस्यहरूका प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र सो प्रदेशका आठ जिल्लाका पार्टी सभापति रहेका छन् । सल्लाहकारमा उपाध्यक्ष राजीव पराजुली र संसद्का उपसभामुख गंगाप्रसाद यादव रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);