काठमाडौं, ८ पुस । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाले अध्यादेश खारेज गरेर कर्मचारी समायोजन गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एक साथ जारी गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्न पनि सरकारसँग माग गरेको छ । खानेपानीलगायतका संस्थानहरुमा भइरहेको कर्मचारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघले उनीहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिएको छ ।