पोखरा, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका छन् । निजी भ्रमणका लागि गत सोमवार पोखरा पुगेका पूर्वराजा शाहले मन्दिरको दर्शन गरेका हुन् ।
पोखरा भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले भव्य स्वागत गरिरहेका छन् । पूर्वरानी कोमल शाहसंगै गत सोमवार पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई शनिवार विन्ध्यावासीनी मन्दिरमा उनका समर्थकहरुले भव्य स्वागत गरे ।
परिवारका सदस्य सहित विहान ११ गते विन्ध्यावासीनी मन्दिरको दर्शन गर्न पुगेका पूर्वराजा शाहको समर्थकले राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश जस्ता नारा समेत लगाए ।
पूर्वराजा पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा बसिरहेका छन् । होटलमा अहिले साधारण व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । विन्ध्यवासिनी दर्शनसँगै पूर्वराजाले लेखनाथमा हुने एक कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ । एक हप्ताका लागि पोखरा आएका पूर्वराजा ज्ञानेन्द्रले अंग्रेजी नयाँ वर्ष पनि यही मनाउने कार्यक्रम रहेको छ ।