काठमाडौं, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले सिरियामा रहेका आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेका छन् । ट्रम्पले स्लामिक स्टेट लडाकु समुह आइएस विरुद्धको लडाइ समाप्त भएको र आइएस पराजित भएको घोषणा सहित सेना फिर्ता बोलाउने घोषणा ट्वीट मार्फत सार्वजनिक गरेपछि अमेरिकाका सहयोगि शक्ति राष्ट्र कुद्ध बनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले ट्वीट मार्फत सिरियामा आइएसविरुद्ध लडिरहेका आफ्ना सेना फिर्ता बोलाउने निर्णय सुनाएपछि त्यसले अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रमा भूँइचालो ल्याइदिएको छ ।
अमेरिकाका सहयोगि राष्ट्रहरु फ्रान्स र बेलायतले निर्णयप्रति विमति जनाउँदै असन्तुष्टी सार्वजनिक गरेका छन् भने राष्ट्रपतिको निर्णयमा असहमती जनाउँदै रक्षामन्त्री जिम म्याट्रिसले राजीनामा दिएका छन् ।
ट्रम्पले भने बेलायत, फ्रान्स सहितका शक्ति राष्ट्रको निर्णय सच्याउने आग्रहलाई जवाफ दिनुको साटो नयाँ रक्षामन्त्री नियुक्त गर्न लागेको जनाउँ दिएका छन् । अमेरिकी रक्षामन्त्री म्याट्रिस सहित बेलायत र फ्रान्सले ट्रम्पको कदमले सिरियासहित मध्येपूर्वमा रुसी प्रभाव विस्तार हुने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गर्दै चाँडै फिर्ता हुने बताएका छन् । अमेरिकाले सिरियामा आफ्नो अभियान दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । तर, त्यो चरण कस्तो हो र कसरी कार्यान्वयन हुन्छ भन्ने खुलाएको छैन ।
ट्रम्पले खाली एक ट्वीट सार्वजनिक गरेका छन् र ‘आईएसविरुद्धको ऐतिहासिक विजय पछि आफ्ना सेनालाई घर फर्काउने समय आएको’ उल्लेख गरेका छन् । ट्रम्पको ट्वीटसँगै ह्वाइट हाउसले पेन्टागनलाई सैनिक फिर्तीको योजना बनाउन निर्देशन दिइसकेको छ ।
अमेरिकाले आफुहरुको हित रक्षा गर्न सबै स्तरमा पुनः संलग्न हुन तयार रहेको भन्दै कट्टरपन्थी इस्लामिक आतंकवादी र उनीहरुलाई कुनै पनि प्रकारले सहयोग गर्नेविरुद्धको अभियानलाई पनि नरोक्ने जनाएको छ ।
सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । उनीहरुले उत्तर–पूर्वी सिरियालाई इस्लामिक स्टेटबाट मुक्त गराउन मद्दत गरिरहेका थिए ।
ट्रम्पले सेना फिर्ता बोलाउने निर्णय सार्वजनिक गरिरहँदा समेत सिरीयामा लडाइ जारी छ । उता अमेरिकी रक्षा अधिकारीले भने आईएसले फेरी टाउको उठाउन नसकोस भनेर त्यहाँ कुनै न कुनै रुपले अमेरिकी उपस्थिति हुनु पर्नेमा जोड दिइएका छन् ।
बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने निर्णय पुनः विचार गर्न आग्रह गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले आइएस विरुद्धको लडाइँमा प्रगति भएपनि अमेरिकी सेनाको अनुपस्थितिले आइएसलाई नैं फाइदा पुग्ने बताएका छन् ।
फ्रान्सले पनि ट्रम्पको निर्णयले मध्यपूर्वमा रुसि प्रभाव विस्तार गर्ने भन्दै निर्णयप्रति असहमति जनाएको छ । सिरिएन डेमोक्र्याटिक समुहले त ट्रम्पको निर्णय कार्यान्वयन भए मध्यपूर्वमा शान्ति स्थापना हुन नसक्ने बताएको छ ।




