काठमाडौं, ४ पुस । कानुन मन्त्री भानुभक्त ढकालले फौजदारी संहितामा देखिएका कमी कमजोरीलाई संघीय सच्याउँदै लेजाने भएको छ ।
गत भदौं १ गतेबाट कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति आलोचना भईरहँदा मन्त्री ढकालले त्यसलाई संशोधनको माध्यामबाट समृद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
बुधवार नेपाल कानून समाजले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सो संहिताप्रति व्यक्ति र समाजका विभिन्न संघ, संस्थाले राखेको सरोकारलाई सम्बोधन हुने गरी सरकारले आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
मन्त्री ढकालले कार्यान्वयनमा गएका कानुनको व्यवहारिक प्रयोजनको निष्कर्षबारे सरकारलाई जानकारी गराउन पनि सम्बन्धित पक्षलाई आह्वान गरे । कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधिश सपना मल्ल प्रधानले अपराधिक गतिविधिमा संलग्नहरुको पनि मौलिक हक मर्न नदिन राज्य सचेत हुनुपर्ने आवश्यक्ता औंल्याएकि छिन् ।
महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनको काममा केन्द्रित हुन सम्बन्धित सबै निकायलाई आग्रह गरेका थिए ।