एजेन्सी, २९ मंसिर। श्रीलङकाका नेता महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । श्रीलङकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षेले राजीनामा दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजापाक्षेका छोरा नमल राजापाक्षेले पनि आफ्ना बाबुले राजीनामा दिएको पुष्टि गरेका छन् । ट्वीट गर्दै उनले देशको राजनीतिक स्थायित्वका लागि राजापाक्षेले राजीनामा दिएको बताएका छन् ।
राजापाक्षेको राजीनामासँगै श्रीलङ्कामा सात हप्तादेखि चलिरहेको शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको छ । सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो ।
अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए । राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणा गर्दै चुनावको मिति तोकेपछि त्यसका विरुद्धमा मुद्धा परेको थियो ।
राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङकामा राजनीतिक सङकट सुरु भएको थियो ।