काठमाडौं, २६ मंसिर । कर्मचारी संघ, संगठनहरुले ‘कर्मचारी समायोजना अध्यादेश–२०७५’ जारी गरेकोमा आपत्ति जनाउँदै सरकारको आलोचना गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध नेपाल निजामती कर्मचारी संगठन र काँग्रेस आवद्ध नेपाल निजामती कर्मचारी संघले संसद छलेर सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेकोमा आपत्ति जनाउँदै सरकारको आलोचना गरेका हुन् ।
बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध नेपाल निजामती कर्मचारी संगठनका महासचिव अमरसिंह ओलीले कर्मचारीहरुलाई मनोवैज्ञानिक त्रास उत्पन्न गराउने गरी सरकारले आफुहरुसँग सल्लाह समेत नगरी सो अध्यादेश राष्ट्रपतिबाट जारी गराएको भन्दै आपत्ति जनाए ।
काँग्रेसमा आवद्ध नेपाल निजामती कर्मचारी संघका अध्यक्ष सुवोध देवकाटाले संविधानसँग बाँझिने गरी सरकारले कर्मचारी समायोजना अध्यादेश जारी गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी दिए ।
कर्मचारी संघ, संगठनहरुले यस अघि पनि संसद छलेर कर्मचारी समायोजना अध्यादेश नल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । गत मंगलबार राष्ट्रपति विद्या भण्डारीले सो अध्यादेश जारी गरेपछि कर्मचारीसँग सम्बन्धित संघ, संगठनहरु आक्रोशित भएका हुन् ।