भूकम्पको साँढेतीन वर्षसम्म पनि रानीपोखरीको पुन:निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भूकम्पको साँढेतीन वर्षसम्म पनि रानीपोखरीको पुन:निर्माण अलपत्र

ranipokhari

फूलमाया आले

काठमाडौं, २४ मंसिर । भूकम्पले क्षति पु-याएपछि एक वर्षभित्र पुननिर्माण सक्ने भन्दै रानिपोखरीका माछा बालाजुस्थित माछा पोखरीमा सारिएको थियो । माछा सारेसँगै पानी सुकाएर खण्डहर भएको रानी पोखरीको पुननिर्माण भूकम्पको चार वर्ष पुग्न लाग्दा समेत अघि बढ्न सकेको छैन । रानीपोखरीको पुननिर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको मिति सारेको सारेइ गरिरहेको छ ।

विक्रम संवत २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण पूर्णरुपमा क्षति पुगेको रानीपोखरीको पुननिर्माण भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा समेत सुरु हुन सकेको छैन । रानीपोखरीको पुननिर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीलाई रानीपोखरीको पुनर्निर्माणको काम शुरु गर्ने गरी जिम्मा दिएको थियो ।

तर, उक्त कम्पनीले निर्माणका क्रममा कंक्रिट प्रयोग गरेर स्थानीयको विरोधपछि महानगरले उक्त कम्पनीसँगको ठेक्का रद्ध गरि गत भदौ ३ गते नयाँ टेन्डर आह्वान गरेको थियो । महानगरले आह्वान गरेको नयाँ टेन्डरमा दुईवटा कम्पनीले आवेदन दिएपनि २ वटै कम्पनीको प्राविधिक पक्षको अध्ययन गर्दा असक्षम देखिएपछि उक्त टेन्डर पनि रद्ध गरेर महानगरले गत कात्तिक २६ गते पुन नयाँ टेन्डर आह्वान गरेको जनाएको छ ।

रानीपोखरीको पुनर्निर्माणका लागि महानगरले गत कात्तिक २६ गते आह्वान गरेको नयाँ टेन्डरमा वोल्ड वाइड सुनकोसी, सौरहा स्काई जेवी र रविना कन्सट्रक्सन गरी ३ वटा कम्पनीले आवेदन दिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार अहिले आवेदन दिएका उक्त कम्पनीहरुको प्राविधिक पक्षका विषयमा अध्ययन भइरहेको जनाएको छ । प्राविधिक पक्षको अध्ययन पास भएपछि आर्थिक प्रस्ताव खोल्ने र जुन कम्पनीले न्यूनतम रेटमा काम गर्न तत्पर हुन्छ त्यही कम्पनीसँग सम्झौता अगाडी बढाउने तयारी भइरहेको महानगरले जनाएको छ ।

आगामी पुस महिना भित्रमा पुनर्निर्माणको काम अगाडि बढाइ निर्माण सुरु गरिएको मितिबाट एकवर्षमा निर्माण समपन्न गर्ने महानगरले जनाएको छ । साथै महानगरले रानीपोखरी पुनर्निर्माणका लागि १५ करोड, माटो व्यवस्थापनका लागि ३ करोड गरी जम्मा १८ करोड रुपैया बजेट विनियोजन गरेको जनाएको छ ।

महानगरको योजना र ठेक्का सम्झौता अनुसार २०७३ कात्तिकमै रानीपोखरी पुनर्निर्माण भइसक्नुपर्ने थियो । तर, पुनर्निर्माणका क्रममा कंक्रिट प्रयोग गरेपछि उत्पन्न विवादले अझै काम सुरु हुन सकेको छैन । त्यसैले विभिन्न बहानाबाजीले रोकिँदै आएको रानीपोखरी पुनर्निर्माणको काम अझै लम्बिने खतरा जिवितै देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);