मंगलसेन नगरपालिकाले ल्याएको रोजगार कार्यक्रम असफल | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

मंगलसेन नगरपालिकाले ल्याएको रोजगार कार्यक्रम असफल

शुशिल भण्डारी

अछाम, २२ मंसिर । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरी अछामको मंगलसेन नगरपालिकाले ल्याएको रोजगार कार्यक्रम असफल भएको छ । नगरपालिकाको पूर्व तयारी र जिल्लाका राजनीतिक दलको असहयोगको कारण असफल भएको हो ।

अछामको मंगलसेन नगरपालिकाले गत असार १० गते दोस्रो नगरसभाबाट १८ वर्षदेखि ५० वर्ष उमेर समूहका युवालाई जिल्लामै रोजगारी दिने कार्यक्रम घोषणा गर्यो । जस अनुसार १ हजार १ सय ११ जना युवाले आवेदन दिए ।

त्यसवेला भारतबाट समेत आवेदन दिन युवाहरु अछामको मंगलसेनसम्म आईपुगेका थिए । हुनपनि घरमै वसि वसी मासिक १२ हजार तलव पाउने भएपछि विदेशबाट गाउँ आउनु पनि अस्वभाविक होइन ।

तर, आवेदन दिएको ४ महिना भईसक्दा पनि प्रक्रिया समेत अघि बढ्न नसकेपछि उनीहरु अहिले आक्रोसित भएका छन् । युवाहरुले आवेदन दिँदा लागेको आतेजाते खर्च दिन समेत नगरपालिकासंग माग गरेका छन् ।

नगरपालिकाले युवालाई भवन, बाटो, कुलो, पानीको मुहान मर्मत, सरसफाई र अवरुद्ध सडक मर्मत लगायतका पूर्वाधार निर्माणमा परिचालन गर्ने उद्देस्य सहित रोजगार कार्यक्रम ल्याएको थियो । तर, नगरपालिको पूर्व तयारी नपुग्नु तथा जिल्लाका केही राजनैतिक दलको पूर्ण असहयोगका कारण यो योजना कार्यान्वयन हुन नसकेको नगरपालिकाको भनाई छ ।

अछाम नगरपालिकाले ल्याएको रोजगार कार्यक्रम सुदुरपश्चिमकै सवैभन्दा आकर्षक योजना हो । जस अनुसार नगरपालिकाले एउटा कार्यदल समेत बनाएर काम गर्यो । तर, यो योजनालाई सफल बनाउन भन्दा पनि चारैतिरबाट असहयोग भएपछि वाध्य भएर त्यसवेला युवाहरुले आवदेन दिन लागेको खर्च फिर्ता गर्ने घोषणा गरेको छ ।