युवाहरूलाई उद्यमी बनाउँदै चाँगुनारायण नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

युवाहरूलाई उद्यमी बनाउँदै चाँगुनारायण नगरपालिका

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवाहरूलाई उद्यमी बनाउन एक हप्ते जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम सञ्चालन गरेको छ । नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत नगरभित्रका स्थानीय युवालाई उद्यमी बनाउन सो तालिम सञ्चालन गरेको हो ।
 
नौ वडा रहेको पालिकामा वडा नम्बर १ देखि ४ सम्मका स्थानीयलाई चाँगुनारायण माध्यमिक विद्यालयमा र वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयलाई भत्केको पाटीस्थित रोम्बस स्कुलमा तालिम सञ्चालन गरेको छ । दुवै तालिम केन्द्रमा सहभागी भएका युवाहरूलाई उद्यम परामर्श तथा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता र वित्तीय साक्षरतासम्बन्धी जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम दिइएको पालिकाले जनाएको छ । 

नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिकाले ल्याएको मेयर उद्यमशीलता कार्यक्रम मुलुकभरका स्थानीय तहका लागि उदाहरणीय भएको र बैंकले यसलाई चाँगुनारायण मोडल नामाकरण गरी अरु स्थानीय तहमा पनि सुरु गरेको बताए । उनले नगरपालिकाले गत वर्षको आर्थिक वर्षमा उद्यमशीलता कार्यक्रममा ११ सयभन्दा बढीको आवेदन परेको र त्यसमध्ये एक हजार १२ जनाले अभिमुखीकरण तालिममा सहभागी भएको बताए ।

उनका अनुसार सो तालिमबाट ६ सयजना स्थानीयलाई छनोट गरी गत वर्ष तीन सय ९० जनालाई उद्यमी बन्न कर्जाको व्यवस्था गरिएको थियो । जसअनुसार हालसम्म ६५ जना स्थानीयले बैंकबाट कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । 

कार्यक्रमका लागि पालिकाले राष्टिय युवा परिषद सानोठिमी र नेपाल बैंक लिमिटेडसँग सहकार्य गरेको नगर प्रमुख मिश्रले बताए । उनले कार्यक्रममा सहभागी भएका युवालाई विना व्याज तीन लाख कर्जाको व्यवस्था गरिदिने र पाँच वर्षसम्म साँवामात्र चुक्ता गर्नुपर्ने बताए । 

परिषद्का युवा अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख दिनेश ढुंगेलले नगरपालिकाले ल्याएको कार्यक्रमबाट वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने युवाहरूको कमी हुन सक्ने विश्वास व्यक्त गरे । उनले लगानीको कमी र रोजगारीको अभाव भएको भन्दै नेपाली युवा विदेश जाने गरेको बताए । जसमा १ प्रतिशत युवा तालिम लिएर दक्ष जनशक्तिको रूपमा काम गर्ने, ३५ प्रतिशत अर्धदक्ष र ६४ प्रतिशत अदक्ष जनशक्ति पलायन हुने गरेको बताए ।

ढुंगेलले नेपाल सरकारले वार्षिक आठ सयजनालाई मात्रै उद्यमी बन्ने तालिम दिने गरेको उल्लेख गर्दै नेपाली नागरिकले प्राविधिक सामग्री उत्पादन गर्न नसकेपनि कृषि जन्य सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने बताए । 

प्रशिक्षक अर्जुन भट्टराईले एक साताव्यापी तालिममा सहभागिलाई कसरी उद्यमी बन्ने भन्ने विषयमा विस्तृत जानकारी दिइने बताए । उनले एक हप्ते तालिममा प्रशिक्षार्थीलाई उद्यमी बनाउन आधारको विकास गर्ने  बताए । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);