काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकले सरकार संघीयताको मर्म विपरित चलिरहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र रहेको झापाको गौरादह नगरपालिकामा प्रमुखलाई काम गर्न रोकेर उपप्रमुखलाई जिम्मेवारी दिने काम सरकारले गरेपछि सरकार संघीयताको मर्म विपरित चलेको निष्कर्ष निकाल्नु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा काँग्रेस नेताहरुले केन्द्रिय समितिमा पेश गरेको विधान संशोधन मस्यौदामाथिको छलफल जारी राखेका छन् । आईतबारको केन्द्रिय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी काँग्रेसको छ ।
सो प्रतिवेदनलाई अन्तिम रुप दिन शुक्रबार राजनीतिक प्रतिवेदन तयारी समितिको बैठक पनि बसेको छ । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको सो समितिले आईतबार केन्द्रिय कार्य समितिमा आफ्नो प्रतिवेदन पेश गर्ने पार्टीका प्रवक्ता शर्माले बताए ।
आगामी मंसिर २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने राजनीतिक आर्थिक, सांगठनिक, विधानलगायतका मस्यौदालाई अन्तिम रुप दिन काँग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ ।
सबै प्रतिवेदनहरुमाथि छलफल गरी त्यसलाई पूर्णता दिन केही दिन लाग्ने भएकाले काँग्रेस केन्द्रिय कार्य समिति बैठक अझै केही दिन लम्बने प्रवक्ता शर्माले स्पष्ट पारे । मंसिर १३ गतेबाट सुरु भएको काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा हाल विधान र अर्थ नीति सम्बन्धि २ वटा प्रस्तावमाथि छलफल भईरहेको छ ।