राष्ट्रपति भण्डारी स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

rastrapati bhandari

काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलनमा भाग लिई बिहिबार बिहान स्वदेश फर्किएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल,लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट हुने नकारात्मक असर न्यूनिकरणका लागि संयुक्त राष्ट्र संघसँग सहकार्य गरेर अघि बढने विषयमा गम्भिर छलफल गर्नुभएको भ्रमण दलमा संलग्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

सम्मेलनकै अवसर पारेर राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडासँग पनि द्धिपक्षीय भेटवार्ता गरेकी छन् । भेट दुवै मुुलुकबीचको सम्बन्ध विस्तार गर्न फलदायी भएको पनि मन्त्री बस्नेतले बताए ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले पोल्याण्डमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेकी थिइन् । पोल्याण्डको कातोबीजेमा मंसीर १६ गतेदेखि सुरु भएको सो सम्मेलन आगामी मंसीर २८ गते सम्पन्न हुनेछ । राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेर स्वदेश फर्किएकी हुन् ।