झापामा मापसे चेकिङमा कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

झापामा मापसे चेकिङमा कडाई

आर्थिक वर्षको साढे चार महिनाको अवधीमा ६५ दुर्घटना, २६ को मृत्यु ५४ गम्भिर

खगेन्द्र घिमिरे

झापा, १५ मंसिर । चालकले दिउँसै मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटना बढेपछि झापामा ट्राफिक प्रहरीले राजगार्गहरुमा मापसे चेकिङ गर्न थालेको छ । विशेष गरी मोटरसाइकल चालकहरुले दिउँसै मापसे गर्ने र सडकमा हुँईकिनाले दुर्घटना बढेपछि ट्राफिकले मापसे चेकिङमा कडाई गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साढे चार महिनाको अवधीमा मात्र ६५ वटा दुर्घटनामा २६ जनाले ज्यान गुमाए । जसमध्ये ५४ जना गम्भिर र ४३ जना सामान्य घाइते भए ।

अधिकांश सवारी दुर्घटनामा मापसे गरेर सवारी चलाएकाहरु भेटिएपछि ट्राफिक प्रहरीले पनि आफ्नो रणनीतिलाई परिवर्तन गरेको हो ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साढे चार महिनाको अवधीमा एक हजार सवारीचालकलाई मापसे कारबाही गरिसकेको छ । हाल प्रत्येक दिनको चेकिङमा कम्तीमा २० जना मापसे गरेका सवारी चालक भेटिने गरेको ट्राफिक प्रहरीको भनाई छ ।

मापसे गरेर सवारी चलाएकाको सेवनको मात्रा र प्रकृति हेरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) हुनेलाई लाइसेन्स प्वाल पारेर १ हजार रुपैयाँ र लाइसेन्स नहुनेलाई २ हजारसम्म जरिवाना गर्ने गरिएको छ । मापसे जाँच गर्न थालेपछि मापसे गरेर सवारी चलाउनेको संख्या घट्ने र दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको विश्वास छ ।

अत्याधिक सवारी दुर्घटना हुने स्थानलाई मध्यनजर गरेर हाल झापाका विभिन्न ६ स्थानमा दिउँसो र साँझ मापसे चेकिङ हुने गरेको छ । मापसे जाँच गर्न हाल झापा ट्राफिकसँग ४ वटा ब्रेथलाइजर छ । अब बे्रथलाइजर र जनशक्तिको संख्या बढाएर मापसेलाई निरन्तरता दिने ट्राफिक प्रहरीको लक्ष्य छ । आगामी माघ १ गते देखि झापामा मदिरा नियन्त्रणका लागि विशेष अभियान समेत सञ्चालन गर्ने सरकारी तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);