जता फर्कियो त्यतै सरकार देख्न थालेपछि विरोधीहरु आफैं चुप लाग्छन् : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

जता फर्कियो त्यतै सरकार देख्न थालेपछि विरोधीहरु आफैं चुप लाग्छन् : प्रधानमन्त्री

काठमाडौ, ११ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेका हुन् ।

श्रमिकको औषधि उपचार, वृद्ध अवस्था, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताप्रति उत्तरदायी बन्न सबैका लागि यो योजना सार्वजनिक गरेको बताए ।

उनले यो योजनाले सक्नेले मात्रै खाने अवस्थाको अन्त्य गरेको घोषणा पनि गरे । प्रधानमन्त्री ओलीले श्रमको सम्मान गर्न, श्रमप्रति सबैलाई उत्साहित बनाउन र समाजका सबै नागरिकलाई संरक्षण दिन सरकारले यो योजना सार्वजनिक गरेको स्पष्ट पारे ।

उनले २५ वर्ष अघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेपछि त्यसलाई अघि बढाउन सारिएको यो कार्यक्रमलाई कतिपयले विरोध गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा सरकार कहाँ छ ? के गर्दैछ ? भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै सरकार श्रमजीवि जनताको बीचमा रहेको बताए । उनीहरुको भविष्य सुरक्षित गर्न सरकार तल्लीन रहेको यही योजनाले जवाफ दिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकार देशको विकास गर्न बनेको उल्लेख गर्दै केही दिन भित्रै मेलम्चीको पानी आउने र सरकार कहाँ छ ? भन्नेले जवाफ पाउने बताए । उनले सरकार कहाँ छ ? भन्ने प्रश्नको जवाफ गरिव जनतालाई सोध्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले वर्षौदेखिको सास्ती बनेको नाकढुंगा–कलंकी सडकखण्ड हेर्न गए सरकारले काम गरिरहेको थाहा पाउने बताए । जता फर्कियो त्यता सरकार देख्न थालेपछि विरोधीहरु आफैं चुप लाग्दै जाने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रम इमान्दारिताका साथ लागू गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);