सरकारले नागरिकता वितरणमा कडाई गर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अखण्डतासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै नागरिकता वितरणमा कडाई गर्ने बताएका हुन् ।
आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले राष्ट्रको सुरक्षासँग जोडिएको विषय भएकाले यसको वितरणमा सरकार सचेत रहेको स्पष्ट पारे । गृहमन्त्री थापाले नागरिकता वितरणमा आर्थिक चलखेल हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कडा निगरानी राख्ने चेतावनी पनि दिए ।
बैठकमा समितिका सदस्य झपड रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिएको विषयमा छानवीन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका थिए ।
समितिका अर्का सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले स्वदेशी नागरिकले नागरिकता नपाउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी विधेयकलाई टुंगो लगाउनुपर्नेमा जोड दिए ।
सरकारले नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गर्नका लागि सो विधेयकको संशोधन प्रस्ताव संघीय संसदमा पेश गरेको हो ।