अधिकांश मन्त्रालयले लुकाए विदेश भ्रमणको खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १ मंसिर । सरकारका धेरैजसो मन्त्रालयले कर्मचारीको विदेश भ्रमणको विवरण लुकाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायसँग विदेश भ्रमणमा गएका कर्मचारी र उनीहरूले गरेको खर्च विवरण माग गरे पनि अधिकांशले खर्च विवरण लुकाएका हुन् ।

प्रधानमन्त्री कार्यालयले चालू आर्थिक वर्ष २०७५-०७६ को साउनदेखि असोजसम्म कर्मचारीले गरेको विदेश भ्रमणको विवरण र खर्च माग गरेको थियो । तर, मन्त्रालयहरूले विदेश गएका कर्मचारीको विवरण उपलब्ध गराए पनि अधिकांशले खर्च लुकाएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयले मातहत कार्यालयसहित २२ वटा मन्त्रालयको विवरण मागेको थियो । सोअनुसार विगत तीन महिनाको अवधिमा ८२४ जना कर्मचारी विदेश गएको विवरण प्रधानमन्त्री कार्यालयमा प्राप्त भएको छ । विदेश जाँदा कति खर्च भयो भन्ने विवरण अधिकांशले लुकाएपछि प्रधानमन्त्री कार्यालय नै आश्चर्यमा छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले मन्त्रालयहरूले खर्च लुकाएर गलत काम गरेको बताए ।

प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणको विवरण मगाए पनि खर्च लुकाउने र बढी विदेश भ्रमण गर्ने कसैलाई कारबाही गर्न सकेको छैन । प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारी विदेश भ्रमण गर्दा लागेको खर्च लुकाउने मन्त्रालयहरूमा उद्योग वाणिज्य र आपूर्ति, कानुन, भूमि व्यवस्था तथा सहकारी, सहरी विकास, खानेपानी र गृह मन्त्रालय रहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत, सिँचाइ, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालयले पनि दर्जनौं कर्मचारीलाई विदेश पठाए पनि विदेश जाँदा लागेको खर्च लुकाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार खर्च विवरण लुकाउने अन्य मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);