कर्मचारीले विदेश भ्रमणमा सकाउँछन् वार्षिक ५० करोड, सरकार मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कर्मचारीले विदेश भ्रमणमा सकाउँछन् वार्षिक ५० करोड, सरकार मौन

bidesh yatra

काठमाडौं, ६ चैत्र । सरकारले अत्यावश्यक काममा बाहेक विदेश भ्रमण रोके पनि सो निर्णय कार्यान्वयनमा आशंका देखिएको छ । यसअघि पनि सरकारले पटकपटक विदेश भ्रमणमा कडाइ गर्दै आए पनि कर्मचारीले विदेश भ्रमणमा वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेका छन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले पनि अत्यावश्यकबाहेकको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो तर पछि कार्यान्वयन हुन सकेको थिएन । अहिले पनि सरकारले अत्यावश्यकबाहेकको विदेश भ्रमण रोक लगाए पनि कर्मचारीहरू विभिन्न बहाना बनाएर विदेश भ्रमण जाने क्रम जारी छ । सरकारले विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन फितलो देखिएको छ ।

विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीहरूले विदेश भ्रमण जाने क्रममा करोडांै रुपियाँ खर्च गर्ने गरेको पाइएको छ । त्यसरी मनपरि रूपमा खर्च हुने गरे तापनि त्यसको अनुगमन भने हुँदैन । विदेश भ्रमणको उपलब्धि पनि देखिँदैन । कर्मचारीहरूले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकिने गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विदेश भ्रमण गर्दा लाखौं रुपियाँ भत्ता आउँछ जसका कारण कर्मचारीहरू विदेश भ्रमणका लागि औधी दौडधुप गर्ने गरेका छन् । विदेश भ्रमणमा पनि व्यापक सोर्सफोर्स चल्ने गरेको छ । मन्त्री तथा सचिव र उच्च पदस्थहरूको निकट भएकाहरू मात्रै विदेश भ्रमणको अवसर पाउने गरेको बताइएको छ ।

सरकारी निकाय विशेष गरी मन्त्रालयहरूले केही वर्ष अघिसम्म विदेश जाने कर्मचारीहरूको विवरण वेभसाइटमार्फत सार्वजनिक गर्ने गरेको थियो । तर, हाल आएर मन्त्रालयहरूले आफू मातहतका विदेश जाने कर्मचारीको विवरण सार्वजनिक नगरी गोप्य राख्ने गरेका छन् । यसले गर्दा पनि विदेश भ्रमणको औचित्य पुष्टि हुन सकेको छैन । जसका कारण राज्यको रकम बालुवामा पानीसरह भइरहेको स्रोतको दाबी छ ।
कोरोनाको समय अघिसम्म कर्मचारीहरू विभिन्न बहाना बनाएर विदेश जाने क्रम व्यापक थियो । कोरोनाको अवधिमा भने कर्मचारीको विदेश भ्रमण निकै घटेको थियो । तर, अहिले आएर फेरि कर्मचारीहरू विदेश भ्रमणमा जाने क्रम बढेको हो ।

सरकारले विदेशमा अध्ययन अवलोकनबापत विनियोजन गरेको रकम नसकिँदासम्म कर्मचारीहरू विभिन्न समूह बनाएर विदेश जाने क्रमलाई निरन्तरता दिने गरेका छन् ।

अधिकारीहरूका अनुसार कर्मचारी विभिन्न देशमा घुमेर आए पनि त्यहाँ सिकेका राम्रा कुरालाई व्यवहारमा उतार्न खासै पहल गर्दैनन् । ‘विदेश जाने घुम्ने र आउने मात्रै हुन्छ, त्यहाँ सिकेका कुरालाई व्यवहारमा उतार्ने जमर्को अधिकांश कर्मचारीले गर्दैनन्’ –सरकारकै एक अधिकृतको गुनासो छ । तालुक निकायले पनि विदेश भ्रमण गएर आएपछिको मातहतको कर्मचारीको सिकाइ उपलब्धिको विवरणसमेत माग्न छोडेको छ ।

मन्त्रालयमा विदेश जाने कोटा आउँदा पनि सोर्सफोर्सवाला केही सचिव, सहसचिव तथा उपसचिवस्तरकै कर्मचारीको बढी हालीमुहाली हुने गरेको बताइन्छ । राजपत्र अनंकित तहका खरिदार, सुब्बा तथा अधिकृतहरूले भने विदेश जाने अवसर निकै कम पाउने गरेका छन् ।

सरकारी कोटामा विदेश पठाउने कार्यमा समेत ठूलो विभेद हुने गरेको गुनासो तल्ला स्तरका कर्मचारीको छ । विदेश पठाउँदा पनि सेटिङ चल्ने गरेको आरोप ती कर्मचारीको छ । सोर्स, फोर्स र पहुँच नभएका व्यक्तिहरू विदेश जाने अवसरबाट वञ्चित हुँदै आइरहेको तल्ला स्तरका कर्मचारी बताउँछन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);