अप्सरा गौतम, काठमाडौं, २७ कात्तिक । छठ नेपालको एउटा प्रमुख र मिथिलाको मुख्य पर्व हो । यस पर्वमा सूर्य र षष्ठी भगवतीको पुजा गरिने गर्दछ ।
सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोआकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्वको धार्मिक एवं साँस्कृतिक महिमा पाइन्छ । यस पर्वमा सूर्यको विशेष उपासना गरिन्छ । वेदले पनि सूर्यको उपासना गरेको पाइन्छ भने अग्नि पुराणमा पनि छठ व्रतको प्रसंग उल्लेख छ । यसैगरी देवी भागवतामा पनि षष्ठी देवीको महिमागान गरेको पाइन्छ ।
पृथ्वीमा पर्याप्त प्रकाश छरेको र कामना पूर्ण गरेकोमा सूर्यलाई धन्यवाद दिँदै यो पर्व मनाइन्छ । सती अनुसुयाले आफ्नो पतीको रोग ब्याध अन्त होस भनेर रातभर जलशायमा डुवेर त्यहि जलले सुर्य भगवानलाई अर्घ दिएर आरधना गरेको धार्मीक ग्रन्थमा उल्लेख छ । यो पर्वमा षष्ठी देवीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।
विषेस गरी कार्तीक शुक्ल चतुर्थी देखी यो पर्व सुरु हुन्छ । कात्तिक शुक्ल पञ्चमीका दिन निराहार उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको छ । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ ।
साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गाइने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ ।
सूर्य र षष्ठी देवीको पूजा गरी मनाइने छठ पर्वमा विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । साथै सन्तान प्राप्तिको कामनाले पनि यो पर्व मनाउने गरिन्छ ।
यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लगायत पहाडी जिल्लामा मनाउन थालिएको हो ।