देउसी-भैलोमा समेत विकृती भित्रियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देउसी-भैलोमा समेत विकृती भित्रियो

तेज बोहरा

कैलाली, २२ कात्तिक । पछिल्लो समय नेपालका कतिपय संस्कृति बिस्तारै हराउन थालेका छन् । यसको मुख्य कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानु एवं परम्परागत संस्कृति संरक्षणमा हामी नेपालीले ध्यान नदिनु नै हो । यसको उदाहरणका रुपमा तिहारमा खेलिने देउसी–भैलोलाई लिन सकिन्छ ।

तिहारलाई नेपाली मौलिक संस्कृति झल्काउने पर्व मानिन्छ । झिलिमिली पर्वका रूपमा परिचित तिहारको रमाइलो पक्ष देउसी र भैलो पनि हो तर, अहिले आएर देउसी र भैलोमा विकृति देखिन थालेको छ ।

समूहमा मिलेर गाइने गीत हो— देउसी र भैलो । यसमा एक जना भट्याउने हुन्छ भने समूहका अन्य साथीहरूले देउसी अथवा भैलो भनेर भट्याउनेलाई साथ दिन्छन् । खासगरी देउसी–भैलोमार्फत देउसी खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर आशिष दिने चलन छ ।

घरधनीले पनि त्यस्ता समूहलाई आफ्नो गच्छेअनुसार फलफूल, रोटी, दक्षिणा आदि दिन्छन्, तर, हिजोआज देउसी–भैलोको नाममा विकृति–विसंगति ह्वात्तै बढेको छ । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड समेत हुन थालेको छ । जसले धेरै पैसा दिन सक्छ, उसको घरमा मात्र जाने चलन पनि बढ्दो छ ।

मदिरा सेवन गरी देउसी भैलो खेल्ने तथा समूह–समूहबीच हुने झगडामा समेत वृद्धि हुन थालेको छ । पहिले–पहिले यमपञ्चकको पाँच दिनमध्ये पछिल्ला ३ दिन देउसी भैलो खेलिन्थ्यो ।

तर, आज भोली तिहार सुरु हुनु अगावैदेखि पछिसम्म पनि देउसी भैलो खेल्न थालिएको छ । त्यो पनि संस्कृति संरक्षणको नाउँमा पैसा कमाउने धन्दा भएको सर्वसाधरणको गुनासो छ।

कतिपय संघ–संस्था एवं समूहले त पार्टी प्यालेसमा देउसी भैलोको आयोजना गरेर तिहारको परम्परामाथि नै चोट पुराउनेसम्मको गतिविधि गर्ने गरेका छन् । तिहारका अवसरमा खेलिने देउसी–भैलोले नेपाली संस्कृतिमा विशेष महत्व राख्छ ।

पहिले–पहिले देउसी खेल्दा परम्परागत भेषभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाइन्थ्यो तर हिजोआजको देउसी भैलोमा यस्ता पहिरन देखिंदैनन् । दाजुभाइ र दिदी–बहिनीबीचको मिलनको पर्वका रूपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा आदि परम्परागत बाजा बजाई देउसी भैलो खेल्ने परम्परा रहेकोमा आजभोलि हिन्दी तथा अंग्रेजी गीतको बाहुल्यता देखिन थालेको छ ।

संस्कृति संरक्षणको नाममा देउसी–भैलो खेल्ने बताउनेहरूले समेत परम्परागत शैलीलाई अपनाउन सकेका छैनन् । त्यसो त देउसी भैलोमार्फत परम्परागत संस्कृति जोगाउन केही समूह लाग्दै नलागेका भने होइनन् । यस्ता कतिपय समूहले स्वदेशमा मात्र नभै विदेशमा रहेका नेपालीहरूमाझ समेत देउसी भैलोको संरक्षणका लागि पहल गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);