बाशु देव बडू
दार्चुला, २० कात्तिक । दार्चुलामा वर्षेनी ६ हजार मेट्रिक टन खाद्यन्न अपुग हुने गरेको एक तथ्यांकले देखाएको छ । तत्कालिन जिल्ला स्थित कृषि कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा धान, मकै, कोदो, फापर लगायतका खाद्यन्न वर्षनौ ठुलो संख्यामा अपुग भईरहेको छ ।
दार्चुलामा प्रत्येक वर्ष ६ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको जिल्ला स्थित कृषि कार्यालयले जनाएको छ । कार्यालयले केही समय अगाडी सार्वजनिक गरेको तथ्यांक अनुसार दार्चुलामा उत्पादित खाद्यान्नले प्रति किसान परिवार ३ महिना देखि ६ महिना मात्र खान पुग्छ । बाँकी खाद्यान्न बैदेशिक रोजगारी, ज्याला मजदुरी, व्यापार, जडिबुटी संकलन, रोजगारी बाट भएको आम्दानीले खरिद गरी पुर्ति हुने गरेको कार्यालयको भनाई छ ।
तत्कालिन कृषि कार्यालयका तथ्यांक अनुसार दार्चुलामा ४ हजार ४ सय ८० हेक्टरमा धान खेती, ५ हजार ५ सय ३० हेक्टरमा मकै खेती, १ सय २ हेक्टरमा कोदो खेती र १ सय हेक्टरमा फापर खेती गरिन्छ । त्यसैगरी, १ हजार २ सय २२ हेक्टर क्षेत्रफलमा दलहन खेती, ६ हजार हेक्टरमा तेलहन खेती र १ हजार १ सय १४ हेक्टरमा तरकारी खेती गर्ने गरिएको छ ।
पछिल्लो समयमा दार्चुलामा खाद्यन्नको अभाव हुन नदिन जिल्ला कुषि कार्यालयले विभिन्न कार्यक्रम संचालन गरेको थियो । तर, कुषि कार्यालयहरु अहिले स्थानीय तहमा समायोजन भएपछि यी सबै कार्यक्रम लगायत अन्य सेवा प्रवाह समेत व्यवस्थित हुन नसकेको स्थानीयको गुनासो छ ।
कुषि विकास कार्यालय बाट किसानलाई बिउ विजन मल, तथा प्राविधिक सहयोग गदै आएको छ । तर, अहिले यी कामहरु समेत प्रभावकारी नभएको जिल्ला समन्वय समितीका संयोजक करविर बहादुर कार्कीले समेत स्वीकार गरेको छ ।