बेमौसमी वर्षा : बाली विमा नहुँदा किसानले लाखौंको क्षति बेहाेरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेमौसमी वर्षा : बाली विमा नहुँदा किसानले लाखौंको क्षति बेहाेरे

ओखलढुंगा । बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली विमा नहुँदा किसानलाई समस्या भएको छ । दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो ।

जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका कारण ढलेपछि कुहिन थालेको छ । दाना लाग्न नपाउँदै ढलेपछि अन्न मात्रै होइन, घाँस समेत नहुने चिशंखुगढीका किसान भोला ढुंगानाले बताए । 

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर चार हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूर्ण क्षति पुगेको छ । यो मध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको छ । सात हजार सात सय ५१ हेक्टरमा लगाइएको कोदोमध्ये एक हजार तीन सय ९५ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति भएको छ । 

त्यस्तै, चार हजार चार सय तीन हेक्टरमा लगाइएको धानमध्ये आठ सय ८० हेक्टर धान ढलेर काम नलाग्ने अवस्थामा पुगेको छ । ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा पूर्ण क्षति पुर्‍याएको छ । जिल्लामा कुल ६ हजार पाँच सय हेक्टर खेतमध्ये पानी कम परेकै कारण चार हजार चार सय ९३ हेक्टर मात्रै रोपाइँ भएको थियो । 
रोपाइँ नै कम भएको समयमा फेरि पानी र हावाहुरीले धान ढालेपछि थप क्षति हुँदा किसानलाई खाद्यान्न संकट हुने चिन्ता छ ।

उनीहरूलाई सरकारले राहत दिनुपर्ने अगुवा किसानको माग छ । किसानलाई बेमौसमी वर्षा र हावाहुरीले क्षति पुर्‍याउँदा लाखौं क्षति भएको राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत सरस्वती कट्वालले बताइन् । 

विमा नहुँदा किसानलाई मर्का 

सरकारले किसानलाई बाली विमा गराउने नीति ल्याए पनि ओखलढुंगामा कार्यान्वयनमा आउन सकेको छैन । बाली विमाको विषयको सचेतना किसानसम्म पुग्न सकेको छैन । ‘विमा भए क्षतिपूर्ति हुन्थ्यो होला, यसबारे जानकारी नै छैन कहाँ कसरी गर्ने हो ?’ किसान सानु मगरले भने । 

प्रकृया झन्झटिलो रहेकाले किसानले विमा गर्न नचाहेको कृषि ज्ञान केन्द्रका प्राविधिक टिका बानियाँले बताए । उनले भने, ‘किसानलाई जति भने पनि विमा नै गर्दैनन्, क्षतिपूर्ति कम आउने कहिलेकाहीँ मात्रै समस्या आउने भएकाले किसानको ध्यान नै जाँदैन ।’ 

कार्यालयले बाली विमाबारे कुनै कार्यक्रम नै ल्याएको छैन । सरकारले बाली विमाका लागि कम्पनीलाई तोके पनि किसानले विमा गराउन नआएको आइएमइ जनरल इन्स्योरेन्सका खुरहरि दाहालले बताए । उनले भने, ‘बाली विमा लागतमा हुने र क्षति हुँदा उत्पादनमा हुँने भएकाले किसानले ध्यान नदिएका हुन् ।’

अहिलेको नीतिअनुसार खेति गर्दा लागेको बीउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ ।  क्षति हुँदा उत्पादन भएको बाली हुने हुँदा विमा गर्दा उत्पादनको क्षतिका आधारमा हुनु पर्ने राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत कटुवालले बताइन् । 

उनले महासंघले सरकारसँग हाल क्षतिपूर्ति दिन र विमा नीति परिमार्जन गर्न पैरवी गरिरहेको पनि जानकारी दिइन् । उत्पादनका आधारमा हुने क्षतिको विमा गर्ने नीति ल्याएर बाली विमा प्रभावकारी बनाएमा विमाप्रति किसानको आकर्षण बढ्ने अखिल नेपाल किसान महासंघका नेता शारदा निरौला बताउँछिन् । ओखलढुंगामा बाली गर्ने किसानकाे अभिलेख नै छैन । एकजनाले पनि विमा गरेकाे जानकारीमा नरहेकाे कृषि ज्ञान केन्द्रकाे भनाइ छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);