पैतृक सम्पत्तिमा गैरआवासीय नेपालीको पूर्ण हक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पैतृक सम्पत्तिमा गैरआवासीय नेपालीको पूर्ण हक

paitrik sampati

काठमाडौं, १७ कात्तिक । विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीको समेत नेपालमा पैतृक सम्पत्तिमाथि हक लाग्ने व्यवस्था मुलुकी देवानी (संहिता) २०७४ ले गरेको छ  ।

संहिताको दफा ४३३ मा गैरआवासीय नेपाली नागरिकता पाएकाले अंश या अपुताली दुवै पाउने व्यवस्था छ । उसले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने संहिताले स्पष्ट पारेको छ ।

‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीसमेत नेपालमा पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पैतृक सम्पत्ति वा अंशबाट विमुख हुँदैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ,’ कानुन मन्त्रालयका एक अधिकारीले भने ।

संविधानसभाबाट जारी नयाँ संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नागरिकता’ दिने व्यवस्था गरेको छ । सरकारले नागरिकता ऐन संशोधन गर्न संसद््मा पेस गरेको विधेयकमा समेत त्यस्ता व्यक्तिलाई ‘गैरआवासीय नेपाली नागरिकता’ दिने र तिनले नेपालमा आफ्नो नाममा लगानी गर्न या सम्पत्ति खरिद, बिक्री गर्न पाउने व्यवस्था छ । विधेयकमा गैरआवासीय नेपालीले राजनीतिक अधिकार भने नपाउने उल्लेख छ ।

गैरआवासीय नेपालीले विदेशमा कमाइ गरी बाबुआमा, दाजुभाइ, दिदीबहिनीका नाममा खरिद गरेको घरजग्गा या कुनै सम्पत्तिमा भने उसको सोझो हक नलाग्ने जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए । ‘कुनै गैरआवासीय नेपालीले आफ्ना नातागोताको नाममा नेपालमा घरजग्गालगायतको सम्पत्ति जोडेको छ भने त्यसमा उसको सोझो हक लाग्दैन । जसको नाममा छ, उसैको मात्र हक लाग्छ । बाबुआमा या दाजुभाइ, दिदीबहिनीलगायत नातागोताले दया गरेर दिएमात्र त्यस्तो सम्पत्ति पाउँछन्,’ ती अधिकारीले भने ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);