एनआरएनलाई नेपालीसरह नागरिकता माग | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

एनआरएनलाई नेपालीसरह नागरिकता माग

nrn-lai-nagrikta

काठमाडौं, १३ पुस । गैरआवासीय नेपालीले आफूहरूलाई नेपाली नागरिकसरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् ।

संसदको राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिले आफूहरूलाईनागरिकता दिने व्यवस्था सहज बनाउन आग्रह गरेका हुन् ।

संविधानमा संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘नेपालको गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सकिने प्रावधान छ । संविधानअनुसार गैरआवासीय नागरिकता प्राप्त नेपालीले राजनीतिक अधिकार भने पाउनेछैनन् ।

गृह मन्त्रालयले संवैधानिक व्यवस्थाअनुसार संसद्मा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगेको छ । विधेयक राज्यव्यवस्था समितिमा विचाराधीन छ ।

संघले विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशज वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक भएको र पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले अन्य नेपाली नागरिकसरह नागरिकता पाउनुपर्ने आफ्नो मान्यता रहेको धारणा समितिमा राखेको थियो ।